तलव खुवाउने स्रोत नभएको भन्दै भक्तपुर जिससद्धारा एम्बुलेन्स सेवा बन्द

72
Shares

भक्तपुर, २२ साउन । जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।

तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अस्थायी तथा करार सेवामा काम गर्दैआएका कर्मचारीलाई थप तीन महिना हाजिर गराएर काम गर्न परिपत्र गरे पनि जिल्ला समन्वय समितिले एम्बुलेन्स चलाउन नदिएको चालक कृष्णराम कोजुको आरोप छ ।

“साउन १ गतेदेखि एम्बुलेन्स चलाउन अनुमति दिएको छैन”, उहाँले भन्नुभयो, “दैनिक कार्यालय आएर हाजिर गरिरहेको छु ।,” उहाँले सर्वसाधारणले दिनहुँ एमबुलेन्स सेवाका लागि फोन गर्ने गरेको बताउनुभयो । कोजुले १७ वर्षदेखि तथा अर्का चालक भीमनाथ गेलालले १५ वर्षदेखि करारमा एम्बुलेन्स चलाउँदै आएका थिए ।

जिससको आन्तरिक स्रोत नभएको र प्रदेश तथा संघीय सरकारबाट एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध नगराउँदा १७ वर्षदेखि सञ्चालन गर्दै आइरहेको उक्त सेवा बन्द गर्नुपरेको जिल्ला समन्वय अधिकारी पर्वप्रसाद सापकोटाले बताए।

“जिल्ला विकास समिति हुँदा आफ्नै आम्दानीको स्रोत थियो । अहिले आन्तरिक स्रोत छैन, एम्बुलेन्स सेवा दिन सकिदैन,” उनले भने । तत्काल अर्को व्यवस्था नभएसम्म एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएकाले जिससको एम्बुलेन्स अन्य निकायलाई जिम्मा दिने तयारी भइरहेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *