नेपाली सेनाद्धारा त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

420
Shares
काठमाडौँको न्यूरोडमा निर्मित त्रिभुवन चन्द्र मिलिटरी अस्तापलको शुक्रबार उदघाटनपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत । तस्बिर : रासस

काठमाडौँ, १८ साउन । नेपाली सेनाले न्युरोड गेटस्थित त्रिभुवन चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्दै स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत गरे ।
सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ ।

प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस्पताल निर्माण भएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा रहने उक्त अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुनेछ ।

अस्पतालमा पहिलो चरणमा बाल चिकित्सा, दन्त चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुनेछ ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले ऐतिहासिक सम्पदाका रुपमा रहेको उक्त अस्पतालको पुरानो स्वरुपमै अत्याधुनिक सुविधा सम्पन्न तीनतलाको नयाँ भवन निर्माण गरिएको जानकारी दिए ।

उनले भने “भवनको ऐतिहासिक महत्वलाई कायम गरिएको छ, छाउनी अस्पतालमा बिरामीको चापलाई घटाइएको छ, हिताधिकारीलाई राजधानीको केन्द्रभागबाटै सर्वसुलभ ढंगबाट औषधि उपचार सेवा उपलब्ध भएको छ, भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *