वीर अस्पतालको सेवाबारे उपप्रधानमन्त्रीले पोखे दुई गुनासा
काठमाडौं, १२ साउन । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको सेवाका बारे दुईवटा गुनासा गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १२९औँ वार्षिक उत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका मन्त्री यादवले सम्वोधनका क्रममा अस्पताल प्रशासनसंग दुईवटा गुनासा गरेका हुन् ।
उनका गुनासाहरुमा एउटा बरिष्ठ डाक्टरहरुले अस्पतालमा दिने गरेको कम समय र अर्को अस्पतालले खरीद गरेका नयाँ उपकरणको विग्रने समस्याका बारेमा थियो ।
‘वीर अस्पतालले निकै सेवा दिएको छ । प्रगति गरेको छ । त्यो हामीसबैलाई जगजाहेर नै छ । तर मैले यहाँका बारेमा केही गुनासाहरु पनि सुन्ने गरेको छु । त्यो गुनासा समेत सम्वोधन गर्न सकियो भने अझ कति राम्रो हुन्थ्यो होला,’ सम्वोधनको शुरुवाती चरणमै उलने मुख फोरे ।
‘सबै कुरा राम्रो हुँदा हुँदै पनि यहाँ एउटा गुनासो सुन्ने गरिएको छ, ‘सिनियर डाक्टरहरुले कम समय दिनुहुन्छ । यहाँका उपकरणहरु छिटो विग्रन्छ । सिनियर डाक्टरहरुलाई अस्पताल समयमा विरामीले यही भेट गर्न पाए वीर अस्पताल अझ कति राम्रो हुन्थ्यो होला । उपकरणहरु चुस्त रुपमा चल्ने भयो भने यसको योगदान कति रहला ?,’ घुमाउरो शैलीमा उनले भने ।
यद्धपी उनले चिकित्सकहरुले जनतामा पुरयाएको योगदानको पटक पटक प्रशंसा गर्दै सेवा दिने डाक्टर र कमचारीहरूलाई आफ्नो दायित्व अझै बढेको महशुस गरी सेवा दिन आग्रह गरे ।
उनले सेवा भनिएको चिकित्सा क्षेत्र अहिले व्यापार बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘अहिले चिकित्सा क्षेत्र भनेको सेवाको क्षेत्र हो । तर अहिलेको अवस्थामा चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ ।’
नेपालका सामान्य जनताले सबै खालका उपचार पाउन सके भने त्यो ठूलो सार्थकता र उपलब्धी हुने उनको भनाइ छ । स्वास्थ्य सेवालाई सेवाका रुपमा अगाडि बढाउनुपर्ने यादवले बताए ।
‘उपचार गर्न आउने बिरामीहरूले वीर अस्पतालका डाक्टरहरूसँग ठूलो अपेक्षा लिएका हुन्छन्’, उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले भने, ‘डाक्टर भनेको नै सेवासँग जोडिएको पेशा हो । डाक्टरले अस्पतालमा जिम्मेवारीका साथ सेवा दिनुपर्छ ।’
देशको कुना काप्चाका अस्पतालमा पनि सेवा दिनुपर्ने भन्दै स्वास्थ्य सेवामा स्प्रीट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । ‘सबै डाक्टरहरूले देशको कुनै पनि ठाउँमा सेवा दिनुपर्छ र त्यसको लागि वीर अस्पतालले अग्रसरता लिनुपर्छ’, उनले भने, ‘वीर अस्पताल देशकै १ नं. अस्पतालको रुपमा अगाडि बढाउनुपर्छ । यसले गर्दा जनतालाई सिंगापुर, मेदान्त, इण्डिाया वा अन्य देशमा जानु नपरोस् ।’
विदेशमा उपचार गराउन जाने परम्परा रोक्न सकियो र बिरामीलाई विश्वास दिलाउन सकियो भने त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुने उनको भनाइ छ ।
डा.मिर्गेन्द्रराज पाण्डेले वीर अस्पतालमा पु¥याएको योगदानको पनि मन्त्री यादवले प्रशंसा गरे । ‘जसले वीर अस्पता बाहेक उपचार गर्न कुनै ठाउँमा जानु भएन । उहाँ सम्मानको पात्र हुनुहुन्छ’, यादवले भने ।
मन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताए । उनले क्वालिटीको स्वास्थ्य शिक्षाका साथै क्वालिटीको स्वास्थ्य सेवा अगाडि बढाउनुपर्ने दायित्व रहेको पनि उल्लेख गरे ।
वीर अस्पताल नेपालको पुरानो अस्पताल मात्र नभई ‘लिडिङ’ अस्पतालका रुपमा रहेको यादवले बताए । ‘वीर अस्पतालले उपचार मात्रे होइन कि कयौँ चिकित्सक उत्पादन गरी मुलुकलाई उदाहरणको रुपमा स्थापित भएको छ’, उनले भने, ‘चिकित्सा शिक्षा परियोजना अगाडि बढाउने निर्णय भई सकेको छ ।
‘सबै खाले उपचारको लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको अस्पतालमध्येमा वीर एक हो’, उनले भने, ‘जुन बेला यो अस्पताल निर्माण भएको थियो त्यस बेला अहिलेको अवस्थामा वीर अस्पताल आउँछ भन्ने परिकल्पना कसैले गरेका थिएनन् । त्यो परिकल्पनाभन्दा बाहिरको सोँच थियो ।’
१२९ वर्ष अगाडि श्री ३ महाराज वीर शम्शेर राणाद्वारा स्थापित नेपालको पहिलो अस्पतालले आफूलाई नेतृत्वदायी रुपमा स्थापित गरेको भन्दै स्वास्थ्यमन्त्री यादवले खुसी व्यक्त गरे । वीर अस्पतालले १२९ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ ।
वीर अस्पतालको स्वास्थ्य सेवामा सेवा प्रदान गर्ने चिकित्सक र सबै कर्मचारीहरूलाई पनि मन्त्री यादवले बधाइ र धन्यावाद दिएका थिए ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
