क्यान्सर अस्पतालमा भित्री अंगको सेकाई गर्ने ब्राकी थेरापी मेसिन जडान
चितवन, ९ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ ।
बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने उनले बताए । झण्डै रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताए ।
बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने जानकारी दिए ।
बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताए । अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन ।
अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन् ।
सम्पर्क इमेल : [email protected]