कर्मचारीद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजिनामा माग

जुम्ला, ७ साउन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले गत विहीबारको घटनाको तत्काल छानवीन गर्न सरकारसंग माग गरेका छन् । उनीहरुले घटना घटाउन प्रतिष्ठान पदाधिकारीहरुको प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको आरोप लगाउँदै राजिनामाको माग गरेका छन् ।

प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले आइतबार जारी गरेको अपिलमा साउन ३ को घटनामा विद्यार्थीलाई परिचालन गरीअस्पताल हाताभित्र मुख्य मन्त्री लगायत सरकारका प्रतिनिधिहरुलाई समेत प्रवेशमा रोक लगाई बाताबरण उत्तेजित बनाइ झडपको स्थिति सृजना गरी कर्मचारी विद्यार्थी र भौतिक संरचनाको क्षति गराइएको छ उल्लेख छ ।

समाजले जारी गरेको अपिलमा कर्मचारीको सामुहिक राजिनामा भन्ने खबर सत्यता नरहेको जानकारी दिएको छ ।

प्रतिष्ठानमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै जटिल हुँदै गएको र उपचारका लागि आवश्यक पर्न सक्ने उपकरणहरु समेत नभएको भन्दै मेडिकल टिमले रिपोर्ट सार्वजनिक गरेपछि सरकारी टोलीले गत ३ साउनमा उनलाई काठमाडौँ ल्याएको थियो ।

त्यसअघि डा केसीलाई लैजान नदिन भन्दै अवरोध सिर्जना भएपछि प्रहरीले प्रतिष्ठानमा बल प्रयोग गरेको थियो । सो क्रममा विद्यार्थी नर्स, चिकित्सक, कर्मचारी साथै प्रहरीसमेत घाइते भएका थिए ।

समाजले डा त्यसबेला डा केसीको स्वास्थ्य अवस्था एकदमै विग्रिएको र यहाँ उपचार गर्न सकिदैन भनेर मेडिकल रिपोर्ट निकाल्ने तर सोही रिपोर्टको आधारमा रेस्क्यु गर्न आएको टोलीलाई काठमाडौँ लैजान नदिने भन्दै ढुंगामुडा गराउने काम हुँदा झडपको स्थिति पैदा भएको स्पष्ट पारेको छ । उसले सो काम प्रतिष्ठानका पदाधिकारीहरुले गरेको समेत दावी गरेको छ ।

को को छन् पदाधिकारी ?
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले हुन् । उनी उपकुलपति नबन्दासम्म डाक्टर केसीका हरेक अनशन सहयोगीको भूमिकामा रहन्थे ।

प्रतिष्ठानका रेक्टर डा धर्मराज श्रेष्ठ छन् । उनी व्यापारी समेत हुन् । प्रतिष्ठानको निर्देशक धर्मराज गोसाई छन् । उनी नन मेडिकल व्यक्ति हुन् । नन मेडिकल व्यक्ति निर्देशक भएको कर्णाली पहिलो प्रतिष्ठान हो । यस्तै मेडिकल डाइरेक्टर डा पुजनकुमार रोकाया मेडिकल डाइरेक्टर हुन् ।

गत ३ साउनको घटनामा यी चारै जना पदाधिकारीहरु प्रतिष्ठानमा थिए ।

‘स्वास्थ्य अवस्था विग्रिदै गएको र आफूसंग प्रयाप्त क्षमता समेत नभएको अवस्थामा डा केसीलाई काठमाडौँ पठाउने बाताबरण सिर्जना गर्न सक्थे । तर, त्यसो गरेको देखिएन, जुम्ला आएका सरकारी टोलीका एक सदस्य भन्छन्, ‘पदाधिकारीहरुले समस्या मिलाउन भन्दा आन्दोलनकारीको लयमा मिलेर झनै बल्झाउने तर्फ लाग्नू भयो ।’

‘स्वास्थ्य अन्त्यन्त विग्रिएको छ, डा केसीलाई बचाउनु पर्छ, त्यसका लागि यहाँ सम्भव छैन पनि भन्ने तर काठमाडौँ लैजान पाइदैन, यहि राख्नुपर्छ पनि भन्ने । त्यसका लागि विद्यार्थी, चिकित्सक, नर्स, कर्मचारीलाई उचाल्ने काम भएको पाइयो । यो राम्रो भएन,’ उनले भने ।

डा. केसीले जुम्ला घटनामा सरकारले अत्यधिक बल प्रयोग गरेको विरोध गर्दै काठमाडौँ आएदेखि स्वास्थ्य परीक्षण गराउन मानेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *