डा. केसीप्रति ऐकेवद्धता जनाउँदै बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

अछाम २८ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीको माग तत्काल सम्वोधन होस् भन्दै बयलपाटा अस्पतालका स्वास्थयकर्मी तथा कर्मचारीहरुले समेत दवाव मुलक कार्यक्रम शुरु गरेका छन् । उनीहरुले आज अस्पताल परिसरमै भेला भई एक घण्टा धर्ना दिएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर  डा. सन्तोषकुमार ढुंगानाको अगुवाईमा भएको धर्नामा सहभागीहरुले डा. केसीले उठाएका माग तत्काल सम्वोधन गरी उनको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।

अस्पतालका चिकित्सक डा. विष्णु भण्डारीले चिकित्सा शिक्षा सुधारका लागि भन्दै जुम्लामा आमरण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था विग्रँदा समेत सरकारले चासो नदिएको भन्दै दवावका लागि धर्ना दिइएको बताए । उनले मागका विषयमा तत्काल सम्वोधन नगरिएक आफूहरु कडा कदम चाल्न बाध्य हुने बताए ।

‘हामी दुर्गममा छौँ । दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिइरहेका छौँ । यसैले हामीले आन्दोलन गर्दा ती कुराहरु बिचार पुरयाएका छौँ । सेवा बन्द गर्ने पक्षमा पनि छैनौँ तर सरकारले तत्काल कदम नचाले हामी कडा कार्यक्रम शुरु गर्न बाध्य हुन्छौँ,’ डा. भण्डारीले भने ।

धर्नामा सहभागीहरुले डा गोविन्द केसीको जीवन रक्षा गर, चिकित्सा शिक्षा निशुल्क गर भन्ने जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि नेपाल चिकित्सक संघले डा केसीको जीवन रक्षाका लागि सरकारलाई दवाव दिन भन्दै हरेक दिन एक घण्टा धर्ना दिन आवहान गरेको थियो । सोही निर्देशन अनुसार बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्नामा सहभागी भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *