सूर्ति नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्न सरोकारवालाको जोड

काठमाडौँ, १२ असार । नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न बनाइएको कानुनको कार्यान्वयन ज्यादै फितलो भएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बनाएका नीति कार्यान्वयन गरी जनधनको क्षतिहुनबाट रोक्न सरकारसंग माग गरेका छन् ।

सञ्जीवनी हेल्थ मिडियाद्धारा मंगलबार राजधानीमा आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘बार्षिक २५ हजार बढी नेपालीको ज्यान लैजाने, त्यसको सेवनले लाग्ने रोगको उपचारमा अरबौँ खर्च हुने सूर्तिजन्य पदार्थको सेवनदर घटाउन बनेका कानूनको राम्ररी कार्यान्वनय भयो भने मात्रै पनि प्रयाप्त हुने थियो ।’

उनले प्याकेटमा ९० प्रतिशत चित्र छाप्नुपर्ने, खुद्रा बिक्री गर्न नपाइने, विज्ञापन गर्न नपाइने, गर्भवती तथा १८ बर्ष मुनिका बालबालिकाले खरीद बिक्री र प्रयोग गर्न नपाउने जस्ता कानूनको राम्ररी कार्यान्वनय हुनसकेमा सेवन दर अटोमेटिक घटने धारणा व्यक्त गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका उपस्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले सूर्तिजन्य पदार्थको सेवनकै कारण लाग्ने विभिन्न रोगको उपचारमा राज्यको अथाह लगानी भएको भन्दै नियन्त्रणका लागि सबै सरोकारवाला सचेत हुनुपर्ने बताए ।

‘नसर्ने जटिल रोगका लागि पाइने एक लाख राहतका लागि जिल्ला जनस्वास्थ्य काठमाडौँले दैनिक औषत २० जना जस्तो सिफारिस गर्दछौँ । यो संख्या बर्षमा करीब २ हजार हुन्छ । हिसाव गर्दा यतिका सिफारिसमा पर्ने मात्रैको उपचारमा २० करोड बढी खर्च राज्यले गर्दो रहेछ । त्यसबाँहेक अरु कति खर्च हुन्छ,’ उनले बताए ।

परिवारका लागि झनै तनाव त्यसैले यसको प्रयोग घटाउन वा नियन्त्रण गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, सूर्ति नियन्त्रण युनिटका फोकल पर्सन ध्रुब अधिकारीले बजेट अभावका कारण सूर्ति नियन्त्रण सम्वन्धी अभियान सुस्ताएको जानकारी दिए । उनले बजेट अभावकै कारण यसबर्ष अनुगमनमा नहिडेको समेत बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वनयमा जिम्मेवार पक्ष पछि परेपनि सञ्चारमाध्यमले निरन्तर खबरदारी गरेको बताइन । उनले आगामी दिनमा पनि कानून कार्यान्वनय गर्न राज्यपक्षलाई घचघच्याउने काममा सञ्चारकर्मीहरु लागि रहने ठोकुवा गरिन ।

कार्यक्रममा नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून र त्यसको कार्यान्वयको अवस्था बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *