इँटा भट्टाका कारण प्रदूषण बढाएको भन्दै पाँचखालवासी आन्दोलित

पेमा लामा

बनेपा, १२ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटा भट्टा र प्लाइ उद्योग हटाउन माग गरेका छन् । यी उद्योगबाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको उनीहरुको भनाइ छ ।

नगरपालिकाको वडा नं ७, ८, ९ र १२ को सिमानामा पर्ने आँपघारी, श्रीराम पाटी र किटिनी टोललगायत करीब एक किलोमिटरको दूरी आसपासमा मात्रै सातवटा इँटा भट्टा र एउटा प्लाइ उद्योग सञ्चालित छन् । यी भट्टाहरु नियमविपरीत सञ्चालन हुँदै आएको उनीहरुको दाबी छ । तरकारीको पकेट क्षेत्रका रुपमा चिनिने पाँचखाल नगरपालिकामा इँटा भट्टा सञ्चालनमा आएपछि वातावरण प्रदूषित बन्दैगएको स्थानीय बासिन्दाको दुखेसो छ । त्यहाँ करीब आठ÷दश वर्ष अघिदेखि एक दुईवटा मात्र इँटा भट्टा थिए । अहिले सातवटा भट्टा सञ्चालनमा छन् ।

भट्टाबाट निस्कने धुवाँले वरिपरिका बस्तीमा वायु प्रदूषण हुनाका साथै खेतबारीमा लगाएको तरकारीबालीमा समेत असर गरेको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने – “‘कृषि शहर पाँचखाल नगर’ भनेर चिनिएका पाँचखालको उत्पादनलाई धुवाँका कारण निकै नोक्सान पु¥याएको छ ।”

स्थानीयवासी चेतनाथ दंगालले भट्टाबाट निस्कने धुवाँका कारण सुतेका बेला राति सास फेर्न गाह्रो हुने गरेको बताए । “बिहान त हुस्सु लागेको जस्तो आकाश नै डम्म बादलले ढोकेको हुन्छ, बगैँचामा आँप, लिचीलगायतका फलफूलका फूल फुल्न छोडिसक्यो,” दंगालले भने – “यस्तो अवस्थामा हामी कसरी बाँच्ने र खेती गर्ने रु”

स्थानीय ढकनारायण पराजुलीले इँटा भट्टालाई सार्न अथवा सुधार्नका लागि अपनाउनुपर्ने विधिका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्क्याउने गरेको बताए । “भट्टाको विषयमा कुरा गर्नका लागि सञ्चालकहरु कहिल्यै नआएको र बीचमा फाइदा खाने ठेकेदारहरु अगाडि सरेर सबैलाई तर्साउने र धम्क्याउने गरेका छन्”, पराजुलीले भने । भट्टा सञ्चालकले डिप बोरिङ गरेका कारण भएका पुरानो इनारसमेत सुकेको उनको भनाइ छ ।

अर्का स्थानीय बासिन्दा नवराज ढकालले पहिलादेखि नै इँटा भट्टाको विषयमा बारम्बार आवाज उठाइरहेको भएपनि कुनै सुनुवाइ नभएको र अहिले जनप्रतिनिधि आएपछि केही होला कि भन्ने सोचेको तर त्यसअनुसार आफूहरुले सुधार नपाएको बताए । “नगर प्रमुखले शुरुमा भट्टा जसरी भए पनि हटाउँछौँ भन्नुभएको थियो, अहिले भने कुनै प्रतिक्रिया दिनुभएको छैन,” उहाँले भन्नुभयो, “इँटा भट्टाबाट निस्केको धुवाँले वातावरण प्रदूषण गरेकै कारण आफूले लगाएको आँपको बगैँचामा अहिले आँप फल्न छोडेको छ ।”

आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि भट्टा सञ्चालन, ठेकेदार, स्थानीय बासिन्दा र नगरका प्रमुख, उपप्रमुखलगायत वडाका सबै जनप्रतिनिधिको बीचमा छलफल गर्ने भनेर आयोजना गरेको अन्तक्र्रियामा समेत प्रमुख÷उपप्रमुख उपस्थित नै नभएको ढकालले बताए ।

स्थानीयवासी पूर्णबहादुर उदासले भने इँटा भट्टाले प्रदूषण गराएको साँचो भए पनि भूकम्पपीडितका लागि घर बनाउन सहयोग नै पुग्ने भएकाले भट्टा हटाउनुभन्दा पनि त्यसलाई सुधार गरी अगाडि बढ्नुपर्ने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *