मानवअंग प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक तेस्रो पटक कलेजो प्रत्यारोपण
काठमाडौँ,११ असार । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आइतबार तेस्रो पटक कलेजो प्रत्यारोपण भएको छ । दोस्रो कलेजो प्रत्यारोपण गरेको एक बर्ष पुग्न एक साता बाँकी रहँदा हिजो तेस्रो कलेजो प्रत्यारोपण भएको हो ।
केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँ कपनका ४३ बर्षीय बद्री खड्काको कलेजो प्रत्यारोपण गरेको हो । खड्कालाई उनकी श्रीमती ३९ बर्षीया रुषा खड्काले कलेजो दान गरेकी हुन् ।
प्रत्यारोपणमा सघाउन भारतको दिल्लीस्थित म्याक्स हस्पिटलबाट प्राडा सुभाष गुप्ताको नेतृत्वमा ९ सदस्यीय टोली केन्द्रमा आएको छ ।
खड्काको कलेजो क्रिप्टोजेनिक सिरोसिस रोगका कारण खराब भएको थियो ।
यसअघि २०७३ मंसिर २२ गते नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्यसको करीब ७ महिना पछि अर्थात २०७४ असार १८ गते दोस्रो पटक कलेजो प्रत्यारोपण भएको थियो ।
पहिलो पटक प्रत्यारोपण सघाउन दक्षिण कोरियाको सामसङ हस्पिटलबाट १४ जना चिकित्सकको टोली आएको थियो । दोस्रो पटक भएको प्रत्यारोपणमा सघाउन दिल्लीस्थित म्याक्स अस्पतालकै चिकित्सक आएका थिए ।
निर्देशक डा श्रेष्ठले पहिलो र दोस्रो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति अहिले स्वस्थ जीवन जिइरहेको जानकारी दिए । उनले लिभर प्रत्यारोपण कार्यक्रमले यसअघि अलि गति लिन नसकेपनि अब यसलाई नियमित गर्न लोगेको जानकारी दिए । ‘अव हामी छिटै अर्को केश पनि गर्दैछौँ । अहिलेलाई यति मात्रै भनौँ ,’ डा श्रेष्ठले भने ।
मिर्गौला प्रत्यारोपणमा ख्याति कमाएको केन्द्रमा अहिले विरामीको चाप निक्कै बढेको छ । अब कलेजो प्रत्यारोपणले गति लिन थालेपछि यो चाप थप बढ्ने निश्चित छ ।
कलेजो प्रत्यारोपण सबै भन्दा जटिल सल्यक्रिया मानिन्छ ।
सम्पर्क इमेल : [email protected]