पश्चिम दाङमा झाडापखाला फैलनुको कारण खानेपानीमा कोलिफर्म

दूषित भएको स्थानिय माईली खानेपानीको मुहान क्षेत्र र रिजर्व टंङकी सरसफाई गदै नेपाली सेना । खानेपानीको मुहान दूषित भएका कारण त्यहाँका ३५० जना भन्दा बढी झाडापखालाबाट बिरामी परेका थिए । तस्वीर : नारायणी रजौरे, रासस, दाङ

दाङ, १५ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका – ३ र ४ मा महामारीका रुपमा गत शनिबारदेखि झाडापखाला फैलिनाको मुख्य कारण मुहान दूषित हुनु रहेको पुष्टि भएको छ ।

परीक्षणका क्रममा सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु भेटिएको छ । दिसापिसाबमा पाइने सो जीवाणु मुहानमा भेटिएपछि पानी दुषित भएको पुष्टि भएको छ ।

यसैबीच आज सोमबार विहान ९ बजेपछि ३१४ झाडापखालाका बिरामी चिराघाट स्वास्थ्य केन्द्रमा उपचारका लागि पुनः आएका थिए । त्यससंगै अहिलेसम्म झाडापखालाबाट प्रभावित हुने एक हजार ४४१ जना पुगेको छ ।

सोमबार आएका बिरामीमध्ये दुई जनालाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएको छ भने १० जना बिरामीको चिराघाटमा उपचार भइरहेको छ । अन्य बिरामी उपचारपछि घर फर्केका छन् । झाडापखाला नियन्त्रणका लागि व्यापक सचेतना अपनाइएको छ ।

मुहानको पानी पूर्णरुपमा बन्द गरिएको छ । प्रभावितलाई तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ । अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेना र चिकित्सक टोली औषधिसहित राखिएका छन् ।

तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका १० र सोमबार थप दुई जना गरी १२ जना बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि १० बिरामी उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *