रसुवा : टेण्टमुनिसञ्चालन जिल्ला अस्पतालको सेवा अत्याधुनिक भवनबाट
धुन्चे, रसुवा, १३ वैशाख । विनाशकारी भूकम्पले ध्वस्त पारेपछि त्रिपालमुनि सञ्चालनमा आएको यहाँको जिल्ला अस्पतालले अत्याधुनिक प्रिफ्याब भवन बाट आफ्नो सेवा दिन शुरु गरेको छ ।
क्यानेडियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जिल्ला अस्पताल, अस्पताललाई चाहिने उपकरणसहित स्वास्थ्यकर्मीका लागि आवास निर्माणमा सहयोग गरेको हो ।
सोसाइटीका अध्यक्ष सञ्जीव थापा र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरुपमा हालै उक्त भवनको उद्घाटन गरी स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई हस्तान्तरण गरे।
भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार करीव रु ५ करोड ४३ लाखको आर्थिक एवं प्राविधिक सहयोगमा ती प्रिफ्याब भवन तयार भएका थिए ।
अत्यन्त आकर्षक, सुन्दर तथा सफा भवनमा स्वास्थ्य सेवा प्रदान गर्न शुरु भएसँगै सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । “टेण्टमुनिको स्वास्थ्य सेवा लिन दैनिक १० /१२ आउँथे तर अहिले ४०/५० जना सेवा लिन आउने गरेका छन्,” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक शर्माले भने ।
“हुरी बतास, पानी आउँदा टेण्टमुनि स्वास्थ्य सेवा प्रदान गर्न असाध्यै कठिन हुन्थ्यो । अहिले काठमाडौँका अस्पतालका कोठा भन्दा कुनै कमी छैन,” चिकित्सक झाले भने ।
कार्यक्रमले क्यानेडियन रेडक्रसकै सहयोगमा अस्पतालका लागि आवश्यक अल्ट्रासाउण्ड, इसीजी, दाँत परीक्षणका लागि आवश्यक उपकरण, फोरो थेरासी(नवजात शिशुमा जण्डिसको मात्रा पहिचान) अक्सिजन, नयाँ शैया, म्याट्रेस, प्रयोगशालाका लागि आवश्यक सबै सामग्री पनि थप सहयोग गरेको भूकम्प प्रतिकार्य कार्यक्रमका रसुवाका संयोजक मधुसुधन थापाले जानकारी दिए ।
पानी र शीतको थोपासमेत चुहिने टेण्टमुनि नै अत्यन्त दुःखका साथ बस्दै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भान्सासहितको भवन तयार भएपछि खुशीले गद्गद् भएका छन् । “हावाहुरी र चिसोका कारण कति दिन टेण्टभित्र निदाउन नै सकेनौँ,” जनस्वास्थ्य अधिकृत विजय रिमालले भने ।
सेवामा निरन्तर जुटिरहन्छ रेडक्रस
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापा र उपमहामन्त्री हरि न्यौपानेले भूकम्प अतिप्रभावित १४ जिल्लामा सोसाइटीले अन्तर्राष्ट्रिय सहयोग जुटाएर आवास पुनःनिर्माण, स्वास्थ्य चौकी भवन निर्माण, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाईका कार्यक्रम समुदायमा सञ्चालन भइराखेको चर्चा गर्दै आगामी दिनमा मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटी अनवरत रूपमा जुटिरहने छ भने ।
नेरेसो जिल्ला शाखाका सभापति बाबुलाल तामाङले मानवीय सेवाका लागि रेडक्रसले जिल्लामा विभिन्न काम गरिरहेको जानकारी दिए ।
रेडक्रस तथा रेडक्रिसेन्टको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजा किम र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले नेपाल रेडक्रसमार्फत मानवीय सेवाका लागि सहयोग जारी रहने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माले नेपाल रेडक्रस स्वास्थ्य सुधारमा उल्लेखनीय काम गर्दै आएको र भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्था पुनः निर्माण गरी हस्तान्तरणमा रेडक्रस अग्रणी रहेको बताए ।
सोसाइटीले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा, ललितपुर, भक्तपुर, काठमाडौँलगायतका १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाई, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरिराखेको छ ।
रेडक्रसले हालसम्म आफूले जिम्मा लिएका सात हजार ३९३ निजी आवास पुनःनिर्माण सहयोगमध्ये तीन हजार २७७ निजी घर पुनःनिर्माण सम्पन्न गरिसकेको छ । रासस