स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ ‘अर्गानोग्राम’ प्रति चिकित्सकहरुको कडा आपत्ति

काठमाडौँ, २२ चैत । संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयले तयार पारेको भनिएको नयाँ ‘अर्गानोग्राम’ प्रति चिकित्सकहरुले विरोध जनाएका छन् । उनीहरुले स्वास्थ्य मन्त्रालयको नेतृत्व ‘केही व्यक्तिको उक्साहटमा लागेर’ एक तर्फी ढंगको संरचना बनाएको भन्दै बिरोध गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य सेवा आम सर्वसाधारणमाझ कसरी चुस्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुको धारणा लिन भन्दै मन्त्रालयमा राखेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका चिकित्सकहरुले नयाँ भनिएको संरचनाको बारेमा आलोचना गरेका हुन् ।

यद्धपी संरचना पास भइसकेको भन्नेमा स्वयं मन्त्रालयका अधिकारीहरु समेत द्धिविधामा छन् । किनभने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अहिलेसम्म स्वास्थ्य मन्त्रालयलाई संगठन संरचनाको निर्णय भयो भनेर संरचनासहितको पत्र अहिलेसम्म आएको छैन ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा नेपाल चिकित्सक सघंका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘मिडियामा आएको संरचना नै यदि आधिकारिक हो भने मन्त्री ज्यूको चुस्त सेवा दिने योजना र आशा सफल हुँदैन् । हामी चिकित्सकलाई बाइपास गरेर संरचना तयार गरिन्छ । न सुझाव लिइन्छ । न सल्लाह मानिन्छ । अनि चुस्त सेवा चिकित्सकले कसरी दिन सक्छ । अहिलेको चिकित्सक व्यवस्थापन गर्ने अर्गानोग्राम पूर्र्वाग्रही ढंगले बनाइएको छ । यसलाई पहिले सच्याउनुपर्छ ।’

यता राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले स्वास्थ्य मन्त्रालयको नेतृत्वले चिकित्सकलाई सम्पूर्ण रुपमा गुमराहमा राखी काम गरेको भन्दै नयाँ संरचनाको भएको भनिएको निर्णयप्रति आफूहरुले खेद व्यक्त गरेको बताए । ‘हामी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भन्छौँ । तर चिकित्सकका सबै अधिकार र दरबन्दी कटौती गछौैँ । अनि कसरी त्यो सम्भव छ ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

सरकारी चिकित्सक संघ ( गोदान)ले समेत स्वास्थ्य मन्त्रालयको पास भएर आएको भनिएको नयाँ अर्गानोग्राम प्रति आपत्ति जनाएको छ । ‘ नयाँ ‘अर्गानोग्राममा क्लिनिकलाई छाडेर पव्लीक हेल्थ तिरमात्रै केन्द्रीत देखिन्छ । विश्वका विभिन्न देशको उदाहरण र अनुसन्धानले समेत क्लिनिकलहरु व्यवस्थापकीय जिम्मेबारीमा सक्षम रहेको पुष्टी गरेको छ । तर मन्त्रालयले त्यसो गरेको देखिएन । यो अर्गानोग्राम प्रति हाम्रो आपत्ती छ,’ गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले भने ।

कार्यक्रममा सहभागी अधिकांश चिकित्सकले मन्त्रालयको अर्गानोग्राम प्रति कडा आलोचना गरेका थिए ।

‘अर्गानोग्राम’ पास भएको भन्नेमा शंका !
मन्त्रालयको उच्चस्रोत संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ ‘अर्गानोग्राम’ पास भइनसकेको दावी गरेको छ । उसले स्वास्थ्य र बन मन्त्रालयको अर्गानोग्राम पास नभएको दावी गरेको हो ।

यता संघीय संरचना कार्यान्वयन इकाईका संयोजक मोहम्मद दाउद भने मन्त्रालयको ‘अर्गानोग्राम’ पास भएको दावी गर्छन् । उनी भन्छन्, ‘मन्त्रालयको अर्गानोग्राम पास भएको छ । अब विभाग तथा प्रदेशका विषयमा छलफल हुँदैछन् । पास नभएको भन्ने कुरामा कुनै सत्यता छैन् ।’

मन्त्रालयको स्रोतले भने गत बुधबारको मन्त्रिपरिषद् बैठकमा अरु मन्त्रालयको संरचना पास भएपनि स्वास्थ्यको पास भईनसकेको दावी गर्छ । ‘हामीले पाएको जानकारी अनुसार मुख्य सचिव लोकदर्शन रेग्मीले यस विषयलाई गम्भीरताका साथ लिनु भएको छ । भोली पनि सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्य मन्त्रालयको संरचनाको बारेमा छलफल चल्दैछ । विवाद बढदै गएपछि यस विषयको अन्तिम टुंगो नलागेको हो,’ स्रोतले भन्यो ।

अस्पतालमा भिड घटाउन विरामीको बर्गिकरण गरौँ, निजीको साथ लिऔँ
स्वास्थ्य राज्य मन्त्री अर्यालले उपचारका लागि पुग्ने बिरामीले ठूला अस्पतालमा समेत घण्टौ पालो कुर्नुपर्ने अवस्था रहेको र अप्रेशनका लागि महिनौँ पर्खनुपरेको भन्दै त्यसको उपयुक्त विकल्प के हुनसक्छ भन्दै चिकित्सकहरुसग सुझाव मागेकी थिइन ।

जवाफमा चिकित्सकहरुले रोगको अवस्था अनुसार विरामीको बर्गिकरण गर्ने ? उपचारका लागि सोही अनुरुप अस्पतालको छनौट गर्नुपर्ने सुझाव दिएका थिए ।

‘अहिले सामान्य विरामी र जटिल विरामी एकै ठाँउमा लाइन लाग्नुपर्ने अवस्था छ । सबैले ठूला अस्पताल रोज्ने र विशेषज्ञ डाक्टर नै खोज्ने भएका कारण यस्तो भिड बढेको हो । त्यसैले कुन अबस्थाको विरामीलाई कुन ठाँउमा उपचार गर्ने र कुन अवस्थाको विरामीलाई कुन ठाँउमा उपचार गर्ने भन्ने छुट्याउनुपर्छ,’ नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा.अञ्जनी कुमार झाले भने । उनले डवल सिफ्टमा अप्रेशन गर्न भने जनशक्ति धेरै लाग्ने र खर्चिलो हुने संकेत गरे ।

कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जनतालाई स्तरीय स्वास्थ्य सेवा निजी क्षेत्रबाट उपलव्ध भइरहेको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘हामीले आफूले भ्याएसम्म सर्वसाधारणलाई स्वास्थ्य सेवा पुरयाइरहेका हुन्छौँ तर मन्त्रालय विभागबाट निजी क्षेत्रलाई अप्ठ्यारो पार्ने काम मात्रै भइरहेको छ । यसमा सुधार गरिनुपर्छ । हामी अझै सहकार्य गर्न तयार छौँ ।’

यता राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा पौडेलले एक चिकित्सक एक अस्पतालको अवधारणा हुनुपर्ने भन्दै त्यो नहुँदासम्म स्वास्थ्य सेवाको सबैमा सहज पहुँच हुन नसक्ने बताए । उनले कम्तीमा सरकारी अस्पतालको नेतृत् वगर्ने चिकित्सकले निजीमा प्राक्टिस गर्न बन्द गर्नुपर्ने बताए ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा पाण्डेले मन्त्रीले भनेजस्तै डवल सिफ्टमा शल्यक्रिय  गर्न सकिने भन्दै त्यसका लागि अस्पताल व्यवस्थापकको इच्छाशक्ति बलियो हुनुपर्ने बताए । उनले अस्पतालहरुलाई धमाधम प्रतिष्ठान बनाउने सरकारी नीतिको विरोध गरे । उनले भने , ‘पैसाको चलखेलमा पद हत्याउने, लाखौँ तलब खाने पदाधिकारीहरु नियुक्ति झन्झट वेहोर्नुमात्रै हो । त्यसैले सकिन्छ भने सबै प्रतिष्ठान खारेज गरौँ । अस्पतालहरुलाई सुध्रिड बनाऔँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *