शिक्षितले नै खान्नन् हात्तीपाइले रोगविरुद्धको औषधि

दाङ । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि नखाएको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनी नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ ।

तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुझ्ने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

“बुझ्ने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर–बजारमा झनै यसको सेवन गर्नेको संख्या निकै कम छ”, जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भने ।

विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ । दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खानेगरेका र अन्य जान्नेबुझ्नेले औषधि नखाइदिने समस्या रहेको बताए । त्यसैगरी, गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ ।

राज्यले यसको सचेतनाका लागि अर्र्बौँ रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हाले झैँ भएको छ । हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् ।

गर्भवती, दुई वर्ष नपुगेका केटाकेटी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला, फोक्सोको दीर्घरोगी तथा छारे रोगका बिरामीले औषधि सेवन गर्न नहुने र अन्य सबैले यो औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

दाङमा यही फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको हात्तीपाइले रोग निवारण विरुद्धको कार्यक्रमअन्तर्गत औषधि खुवाउने कार्यक्रम रहेको छ । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रका व्यक्ति र सरोकारवालालाई जानकारी गराउन शुरु गरिएको छ । तर औषधि भने जिल्लामा नआएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *