बीर र ट्रमा सेन्टरका १६०० कर्मचारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुँदै
काठमाडौँ, ११ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत १ हजार ६ सय बढी स्थायी कर्मचारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुँदैछन् । केन्द्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु स्वास्थ्य बीमामा अनिवार्य रुपमा आवद्ध हुनुपर्ने सरकारी नीति अनुरुप बीमामा आवद्ध हुन लागेका हुन् ।
सो अन्तरगर्त पहिलो चरणमा आज देखि राष्ट्रिय ट्रमा सेन्टरका कर्मचारीहरु आवद्ध भएका छन् । राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीको उपस्थितिमा ट्रमाका चिकित्सक तथा कर्मचारीले बीमा फारम भर्न शुरु गरेका हुन् ।
काठमाडौँमा बीमा कार्यक्रम शुरु नभईसकेको अवस्थामा भक्तपुरबाट आएका बीमाका दर्ता सहयोगी कल्पना श्रेष्ठको टोलीले अहिले ट्रमा अस्थायी सम्पर्क विन्दु कायम गरी चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुको नाम दर्ता गरिहरेका छन् ।
न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले स्वास्थ्य बीमा अहिलेको आवश्यकता रहेको र सरकारले समेत अनिवार्य गरेको अवस्थामा केन्द्रीय दुई ठूला अस्पतालबाट बीमा प्रक्रिया सुरु गरेको बताए । उनले बीमा आवद्धता हुँदा स्वयं बीमीत , अस्पताल र सरकार तिनवटै पक्षलाई फाइदा भएको बताए ।
‘अस्पतालमा कार्यरत कर्मचारीलाई यसै पनि हामीले सहुलियत तथा निशुल्क रुपमा उपचार गर्नुपथ्र्यो । अव बीमाबाट उपचारको सोधभर्ना हुने भयो । यो त हाम्रो लागि फाइदाको कुरा हो । सरकारको लागि पनि फाइदाको कुरा र स्वयं व्यक्तिलाई समेत फाइदाको कुरा हो,’ उनले भने ।
बीमा आवद्ध हुनका लागि सरकारले प्रति परिवार ( ५ जना)ले २ हजार पाँच सय रुपैयाँ प्रतिवर्ष प्रिमियम तिरेपछि बार्षिक ५० हजारसम्मको उपचार पाउने व्यवस्था गरेको छ ।
सम्पर्क इमेल : [email protected]