मिडवाइफ्री विषयको पढाई राजधानी बाहिर पनि बिस्तार हुने

काठमाडौँ, २२ वैशाख । नेपालमा आगामी शैक्षिकसत्रबाट मिडवाइफ्री ( प्रसूति विद्या) को अध्यापन बिस्तार हुने भएको छ । यसका लागि आवश्यक छलफल भइरहेको बताइएको छ ।

विश्व मिडवाइफ्री दिवसका अवसरमा आज मिडवाइफ्री सोसाइटी अफ नेपालले गरेको कार्यक्रममा सोसाइटीका अध्यक्ष प्रा किरण बज्राचार्यले आवश्यकता हेरेर अध्यापन बिस्तार गर्नेबारे छलफल भएको जानकारी दिइन।

नेपालमा पेसागत मिडवाइफ्र (प्रसाविका) को विकास गर्नका लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसमा मिडवाइफ्री जनशक्ति तयार गर्न छुट्टै पाठ्यक्रमअनुसार अध्यापन यसै वर्ष सुरु भएको छ ।

अध्यक्ष प्रा बज्राचार्यले १० वर्षको अवधिमा बल्ल मिडवाइफ्रीको अध्ययन सुरु भएकाले धरान, नेपालगञ्ज, जुम्लाजस्ता स्थानबाट यसको अध्यापनका लागि चासो देखाइएको बताए ।

अहिले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान न्याम्सको वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलबाट १६ जनाले मिडवाइफ्रीको अध्ययन गरिरहेका छन् ।

बज्राचार्यले गर्भवती आमा र शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताए । यसका लागि पाठ्यक्रम तयार गरिएको उनले जानकारी दिइन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट पनि मिडवाइफ्री शिक्षा सुरु हुन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफ्रीले ठूलो भूमिका खेल्ने भएकाले नेपालमा यसको आवश्यकता रहेको बताइन ।

उनले भनिन, “भूकम्प प्रभावित जिल्लामा भूकम्पपश्चात् मानवीय सेवा प्रदान गर्नका लागि मिडवाइफ्रीको भूमिका उल्लेखनीय छ । नेपालमा मिडवाइफ्रीलाई स्थापित र संस्थागत गराउन सरकारले यस विषयमा अध्यापन सुरु ग¥यो । यसले मिडवाइफ्रीको छुट्टै पहिचानका लागि सहयोग गर्ने विश्वास लिएको छ । अब देश सङ्घीयतामा जाँदै गर्दा नेपाल अझ धेरै महत्व छ ।”

उनले तीन वर्षमा उत्पादन हुने मिडवाइफ्रीका लागि स्वास्थ्य संस्थामा छुट्टै दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयको भएकाले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरिन ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले सहरमाभन्दा पनि गाउँका गर्भवती हुने उमेरका महिला, गर्भवती तथा सुत्केरीका लागि मिडवाइफ्रीले ठूलो भूमिका खेल्न सक्ने बताए ।

अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने भएकाले एउटा दक्ष मिडवाइफ्रीले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउनसक्ने दोहो¥याए । उनले भने “अहिले पनि ठूलो सङ्ख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन । त्यसकारण मिडवाइफ्रीको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहँुच नपुगेका स्थान अझ बढी छन् ।”
पर्याप्तमात्रामा दक्ष जनशक्तिको अभावमा मातृशिशु मृत्युदर अझ पनि घट्न नसकेको उल्लेख गर्नुभयो । विभिन्न अध्ययनबाट मिडवाइफ्री भएका स्थानमा बाल मृत्युदर, दुई तिहाइ र शिशु मृत्युदर आधाले घटेको देखिएको भन्दै नेपालका लागि यो शिक्षा अनिवार्य भएको सोसाइटीका उपाध्यक्ष प्रा गोमादेवी निरौलाले बताइन ।

नेपालमा पेसागत मिडवाइफ्रीको विकास गर्नका लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसपछि मिडवाइफ्री जनशक्ति तयार गर्न दर्जनौँ बैठक तथा अन्तक्र्रिया भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको थिएन ।

यसै वर्ष सुरु भएको मिडवाइफ्री अध्ययनका लागि हाललाई स्टार्फ नर्सलाई अध्ययन गराएको बताइएको छ । यसका लागि तीन वर्षमा करिब तीन लाख खर्च लाग्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा महिला तथा नवजात शिशुको जीवन सुरक्षाका लागि थप नौ हजार दक्ष प्रसूतिकर्मी, मिडवाइफ्री पेसागत स्वास्थ्य जनशक्तिको आवश्यकता छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *