प्राधिकरणको विद्युत बिना नै अञ्चल अस्पताल झलमल

बाग्लुङ, २० चैत । देश भर्खर भर्खर लोडसेडिङ मुक्त हुँदै छ तर बाग्लुङस्थित धवलागिरी अञ्चल अस्पतालमा भने पछिल्लो ६ महिना यता एक झिमिक विजुली गएको छैन । अस्पतालले त्यसयता नेपाल विद्युत प्राधिकरणलाई पनि एक पैसो तिर्दैन ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारी भन्छन्, ‘हामीले न  प्राधिकरणको ‘डेडिकेटेड फिडर’ जोडेका छौँ ,  न त जेनेरेटर नै । तर पनि अल्ट्रासाउण्ड एक्सरे लगायतका विद्युत खपत गर्ने मेसिनहरु निर्वाध रुपमा चलेका छन् । हस्पिटलको सबै वार्डमा दिउसो राती बत्ती बलिरहेकै हुन्छ ।’

यस्तो कसरी ? डा राजभण्डारीको छोटो जवाफ थियो, ‘ सौर्य उर्जा (सोलार पावर) ।’

छतमा जोडिएको सोलार प्यानल देखाउँदै मेसु डा. राजभण्डारी

कुल ३८ बेड सञ्चालनमा ल्याएको प्रस्तावित १०० बेडको अस्पतालले छतै भरी सोलार पाता जडान गरेको छ । यसवाट अस्पताललाई चाहिने उर्जा उत्पादन हुने गर्छ । मेसु डा. राजभण्डारी भन्छन्, ‘छतमा राखिएको २१२ वटा पाता सोलार पाताबाट ९६ वटा व्याट्री चार्ज हुन्छ । त्यसबाट ५२ केवी उर्जा प्राप्त हुन्छ । यसले अस्पतालका लागि चाहिने उज्यालो देखि उपकरणका लागि चाहिने उर्जा प्रयाप्त हुने गरेको छ ।’

डा. राजभण्डारीले सोलार पावरको माध्यमबाट यति ठूलो अस्पताल सञ्चालन भएको नेपालमै नमूना भएको दावी गरे । अस्पतालका लागि छुट्टै उर्जाको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले गत बजेटमा एक करोड रुपैयाँ निकासा गरिदिएको थियो । बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ५० लाख रुपैयाँ र अस्पताल विकास समितिले २२ लाख रुपैयाँ खर्च गरेको थियो । यो व्यवस्थाले १० बर्ष ढुक्क संग चल्छ । उनले भने, ‘हामीलाई न विद्युत काटिएला भन्ने डर हुने भने न त विल बढी उठ्यो कि भन्ने डर । धेरै सुविधा भएको छ । ‘

सय बेड प्रस्तावित यो अस्पतलामा अव केही महिना भित्र ट्रमा युनिट र हेमोडायलासिस सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *