उपचार पहुँचमा ३४ हजार क्षयरोगी, नौ हजार कता हराए ?

काठमाडौँ, ९ चैत । विश्व स्वास्थ्य संगठनले नेपालमा हरेक बर्ष ४३ हजार बढी नयाँ क्षयरोगी भेटिने गरेको बताएपनि उपचारको पहुँचमा भने ३४ हजार मात्रै पुग्ने गरेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रको यो तथ्यांकले अहिले पनि नेपालमा करीब ९ हजार विरामी सम्पर्क विहीन रहेको देखिएको छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले हराईरहेका विरामीको खोजी गरि उपचारको पहुँचमा पुरयाउनु अहिलेको चुनौती रहेको बताए । उनले जनचेतनाको कमिका कारण रोग लागेको थाह नपाएर उपचारको पहुँचमा नआएको हुनसक्ने बताए ।

केन्द्रका पूर्व निर्देशक समेत रहिसकेका महानिर्देशक डा पन्तले जीन एक्सपर्ट मेसिनको सहायताले अब धमाधम रोगीहरुको खोज ीगर्न लागेको जानकारी दिए ।

उता केन्द्रका निर्देशक डा शरदचन्द्र बर्माले नेपालमा क्षयरोगका विरामी पत्ता लगाउन केही समस्या भएपनि सफलता दर निकै राम्रो रहेको दावी गरे । उनले भने,’हाम्रा जस्ता अन्य मुलुकमा सफलतादर ५० प्रतिशत नाघेको छैन तर हामीकहाँ निको हुनेदर ९० प्रतिशत बढी छ ।’

गत वर्षको तथ्यांक प्रस्तुत गर्दै डा बर्माले उपचारको पहुँचमा आएका क्षयरोगीमध्ये ७२ प्रतिशत अर्थात २३ हजार ५२७ जनामा फोक्सोमा हुने क्षयरोग, २८ प्रतिशत अर्थात ८ हजार ८५२ जनामा फोक्सो बाहिरको क्षयरोग रहेको बताए । उनले कुल रोगीमध्ये ५.५ प्रतिशत अर्थात १ हजार ७६९ जना बालबालिका रहेको समेत जानकारी दिए ।

सरकारले देशभरका ५९६ वटा माईक्रोस्कोपी केन्द्रबाट क्षयरोगको निदान सेवा प्रदान गर्दै आएको छ । यसलाई थप प्रभावकारी गर्न २९ स्थानमा जीन एक्पर्ट मेसिन सञ्चालनमा ल्याएको बताएको छ ।

उपत्यकामा मात्रै ३ हजार ६ सय नयाँ बिरामी
काठमाडाँै उपत्यकामा मात्रै ३ हजार ६ सय नयाँ बिरामी रहेको पाइएको छ । केन्द्रका योजना शाखा प्रमुख अनिल थापाले बाक्लो घनावस्ती र बाताबरणका कारण सो परिमाणमा रोगीहरु भेटिएको बताए ।

बिरामीमध्ये ७५ प्रतिशतलाई हावाको माध्यमबाट सर्ने फोक्सोको क्षयरोग भएको पाइएको थापाले जानकारी दिए। हावाको आउजाउ नहुने गुम्म परेको कोठाहरु जेल, छात्रावास, गुम्बाहरुमा धेरै मानिसहरु सँगै बस्ने ठाउँमा यो रोगको संक्रमण बढी हुन्छ।

वरिष्ठ क्षयरोग विशेषज्ञ डा. मोहन कुमार प्रसाइ अनुसार लगातार खोकी लागि रहने, खोक्दा खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, शरीर दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुनसक्छ। उनले भने, ‘क्षयरोग विशेषत फोक्सोमा लाग्ने रोग हो, तर मान्छेको जुनसुकै अंगमा पनि क्षयरोग लाग्न सक्छ। क्षयरोग लागेमा साँझपख ज्वरो आउने, पसिना आउने र दुब्लाउदै जाने लक्षण देखिन्छ। श्वासप्रश्वासको माध्यमले सर्ने रोग भएकाले धेरै जसो फोक्सोमा यो रोग लाग्ने गर्छ। क्षयरोग लागेपछि नियमित रुपमा चार थरी औषधी सेवन गरे पूर्ण रुपमा निको हुन्छ। क्षयरोगको औषधी सरकारले निशुल्क दिँदै आएको छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *