‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’

काठमाडौँ, २४ फागुन । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाइलाई आत्मसात् गर्दै आजभोलि मानिस आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् ।

त्यसैले रोग लाग्न नदिन र पहिले नै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार हुन सम्पूर्ण शरीरको स्वास्थ्य जाँच (होलबढी चेकअप) गर्ने चलनको बढेको छ ।

चिकित्सकले होल बढी जाँच गर्नाले शरीरमा कुनै रोगको लक्षण भए/नभएको थाहा हुने भएकाले रोग पहिल्यै पहिचान हुने र उपचारमा जान सकिने बताउँछन् । होल बडी चेकअप अर्थात् जनरल हेल्थ चेक अप भन्नाले शरीरका सबै अङ्गको जाँच भन्ने हो । पछिल्लो समय सहरमा यो जाँच गराउनेको सङ्ख्या बढ्दो छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन डा. कविरनाथ योगी कुनै रोगको सम्भावित लक्षण पत्ता लगाएर उक्त रोगबाट यस्तो जाँच आवश्यक रहेको बताउछन् ।

उनले भने, “सानासाना लक्षणलाई वास्ता नगर्दा देखिने समस्यालाई डाक्टरले पत्ता लगाई सम्भावित रोगबारे बिरामीलाई सचेत गराउन सक्ने हुँदा जनरल हेल्थ चेकअप गर्नुपर्छ ।”

सामान्यतया ४० वर्षभन्दा कम उमेरका मानिसले दुई वर्षमा होल बडी चेकअप गर्दा हुन्छ । ४० देखिमाथिका मानिसले आफ्नो शरीरको अवस्थाअनुसार वर्ष वर्षमा चेकअप गराउन चिकित्सकको सुझाव छ । अनि दीर्घरोगीले भने आवश्यकताअनुसार र छ/छ महिनामा जाँच गराउन उत्तम हुने डा. योगीको भनाइ छ ।

महिलाले भने होल बडी चेकअपबाहेक पाठेघर र स्तनको चेकअप पनि समयसमयमा गर्नुपर्छ । होलबडी चेकअपमा शरीरका सबै अङ्गको परीक्षण गरिने भएकाले मानिसले आफ्नो सम्भावित ठूला रोगबारे पहिले नै जानकारी पाउँछन् ।

वरिष्ठ बालरोग विशेषज्ञ कृष्णप्रसाद पौडेल बालबालिकालाई बिरामी नभई सम्पूर्ण स्वास्थ्य जाँच गराउने चलन नभए पनि सुविधा भएसम्म समयसमय जाँच गराउँदा उपयुक्त हुने बताउछ्। उनले बच्चाको वृत्ति विकास उमेरअनुसार नभएमा वा बढी भएमा, हर्मोनको अवस्थाबारे जाँच गराउनुपर्ने बताउछन् ।

होल बडी चेक अपमा इसिजीमार्फत मानिसको मुटु, छाती, फोक्सो र मिर्गौलाको अवस्था रगतमार्फत मधुमेह अर्थात् चिनी रोग, हेमोग्लोबिन, डब्लुबिसी (सेता रक्तकोष)अर्थात् मानिसको रोग प्रतिरोधात्मक क्षमता, आरबिसी (राता रक्त कोष), युरिक ऐसिड, कोलेस्टोरोल, थाइराइड परीक्षण गरिन्छ । भने भिडियो एक्सरे गरी पेट र शरीरका भित्री अङ्गको अवस्था परीक्षण गरिन्छ ।

आजकाल ठूला अस्पतालले विभिन्न प्याकेजमार्फत होलबढी जाँच गर्ने सुविधा दिएका छन् । काठमाडौँका त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, निजामती अस्पताल, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, निजी अस्पताल नर्भिक, ग्राण्डी, अल्का, ओम अस्पताललगायतका अस्पतालमा यसको सुविधा छ ।

वीर अस्पतालले भने निकट भविष्यमै सुरु गर्ने तयारी गरेको छ । फेरिएको जीवनशैली र खानपानका कारण उच्च रक्तचाप, मधुमेहलगायतका रोग र लक्षण नै थाहा नभई खराब हुने मिर्गौलालाई समयमै बचाउन यस्तो जाँच आवश्यक भएको बताउनुहुन्छ राष्ट्रिय मिर्गौला केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले बताए।

आफ्नो आर्थिक क्षमताअनुसार दुई हजार ५०० देखि ४० हजारसम्मको होलबढी जाँच गर्न सकिन्छ । जसमा रोगअनुसार र लक्षणअनुसार महिला र पुरुषका लागि पनि छुट्टाछुट्टै प्याकेज पनि अस्पतालले उपलब्ध गराउने गरेका छन् । समयसमयमा गरिने जाँचले ठूलो रोगका लागि हुने ठूलो आर्थिक भार र ज्यानै जानसक्ने अवस्थालाई रोक्न सक्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *