कडा रोगका ५१३ बिरामीले लिए आर्थिक सहयोग

काठमाडौँ, २७ माघ । उपचार गराउनका लागि विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग लिन ५१३ बिरामीले सिफारिस लिएका छन् ।

सरकारले विभिन्न कडा आठ रोग लागेका बिरामीलाई विपन्न नागरिक औषधोपचार कोषबाट आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

चालु आवको साउनदेखि पुस मसान्तसम्ममा काठमाडौँ जिल्लाबाट कडा आठ रोग लागेका ५१३ बिरामीले सिफारिस लिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

सबैभन्दा धेरै क्यान्सरका २२१ जना, मिर्गौलाका १००, मुटुका १८७, स्पाइनल कर्ड इन्जुरी, अल्जाइमर, मेरुदण्ड, नसासम्बन्धी कडा रोग र पार्किन्सनका एक/एक जना बिरामीले कोषबाट उपचारका लागि आर्थिक सहयोग लिन सिफारिस लिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सरकारले माथि उल्लेखित आठ प्रकारका रोग लागेका बिरामीका लागि रु एक लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसमा सिकलसेल एनिमिया सामेल भए पनि काठमाडौँमा यो रोगका बिरामी छैनन् ।

गत आवमा पनि उक्त कोषबाट सबैभन्दा बढी क्यान्सरका ४३७ जना बिरामीले सहयोग लिएका थिए । त्यस्तै कोषबाट मुटुका ३६२, मिर्गौलाका १८७, हेड इन्जुरी एक, स्पाइनल इन्जुरी चार, पर्किसन्स दुई, अल्जाइमर दुई जना बिरामीले उपचारका लागि कोषबाट आर्थिक सहयोग लिएको जनस्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।

यस प्रकारका रोगको उपचारका लागि कोषमार्फत सरकारले दिदैं आएको आर्थिक सहयोग बढाउने तयारी पनि गरिरहेको जनाएको छ ।

ती रोगको उपचारका लागि अहिले दिदैं आएको रु एक लाखसम्मको सहयोग बढाएर रु पाँच लाख पु¥याइने तथा कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७० लाई संशोधन गर्ने गृहकार्यमा सरकार लागेको छ ।

यसका लागि औषधोपचार कोष निर्देशिका २०७० लाई संशोधन गरेर कोष निर्देशिका २०७३ को मस्यौदा तयार हुँदैछ । ती रोगको उपचारमा दिइँदै आएको राहत रकम पनि रु पाँच लाख पु¥याइने प्रस्ताव मस्यौदाले गरेको छ ।

संशोधन गर्न लागिएको निर्देशिकामा मिर्गौला रोगीको सम्पूर्ण डायलासिस निःशुल्क र मिर्गौला रोगको ‘एक्युट रेनल फेलियर’ भएका बिरामीलाई पाँच लाख बराबर औषधोपचार सहुलियत दिन प्रस्ताव गरिएको छ । मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई सूचीकृत अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउनसमेत मस्यौदा प्रस्ताव गरिएको छ ।

अहिले डायलासिस निःशुल्क भए पनि प्रत्यारोपणका लागि दुई लाख र त्यसपछि औषधिका लागि रु एक लाख मात्रै दिने गरिएको छ ।

आर्थिक सहयोग लिनेमध्ये धेरै क्यान्सरका बिरामी भए पनि खर्च भने मिर्गौलाको उपचारमा धेरै हुने विपन्न नागरिक औषधि उपचार व्यवस्थापन शाखा कार्यक्रमका वरिष्ठ अहेब अधिकृत प्रकाश घिमिरेले बताए ।

सरकारले अहिले आठ प्रकारका कडा रोग लागेका बिरामीका लागि रु एक लाख छुट्याउँदा यसमा वार्षिक रु एक अर्बभन्दा धेरै खर्च हुने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *