जहाँ गर्भवती महिलाले हरेक महिना भेला गर्छन्

नवलपरासी १३ माघ । तिलकपुर गाविस–३ कि फुलकुमारी चौधरी(नाम परिवर्तन) गर्भवती भएको पाँच महिना लाग्यो । यस अवधीमा उनले के के जाँच गरिन ? के के सेवा लिइन ? महिला स्वास्थ्य स्वयंसेविकाहरुले उनलाई कति पटक भेट गरे ? तिलकपुर स्वास्थ्य चौकीको कार्यकक्षमा रहेका इन्चार्ज बाबुराम तिमल्सिनाले उनको फाइलमा टासिएको टिका हेरेर जानकारी दिदै थिए ।
गर्भवती महिलाको स्वास्थ्य प्रति विशेष ध्यान पुगोस भन्दै जिल्लाका २८ गाविसमा सुरु गरिएको गर्भवती महिला समूह (गमस) कार्यक्रम आफ्नोमा समेत लागू भएपछि इन्जार्च तिमल्सेना प्रसन्न देखिन्थे । ‘यो कार्यक्रम लागू भएपछि त गर्भवती महिला यति सचेत भएकी नवजात शिशु तथा मातृमृत्युको केश एउटा पनि भएको छैन्,’ तिमल्सेनाले भने ।
गर्भवती महिला लक्षित यो कार्यक्रम जिल्लाका २८ गाविसमा लागू भएको थियो । त्यसमध्ये तिलकपुर गाविस पनि एक हो । ७५ प्रतिशत जनसंख्या मधेशी थारु समुदायको बसोबास भएको सो गाविसमा गमस कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको छ । यसअघि विभिन्न संघसंस्थाले गर्भवती महिला, नवजात शिशु सम्वन्धी विभिन्न कार्यक्रम लागू भईसकेको सो गाविसमा गमस कार्यक्रमले थप सहयोग पुरयाएको छ ।

‘अहिले वडा वडामा गर्भवती महिलाहरुको समूह गठन भएको छ । सो समूहका सदस्य अर्थात गर्भवति महिलाहरु हरेक महिना बैठक बस्नुहुन्छ, आफूहरुका लागि के कस्ता समस्याहरु छन ? स्वास्थ्य, पारिवारिक, तथा सामाजिक जुनसुकै कुराहरु आदानप्रदान गर्नहुन्छ । स्वयंसेविकाहरुले आवश्यक सल्लाह पनि दिनुहुन्छ । त्यसबेला गर्भअवस्थाको बारेमा समेत जाँच लिने काम हुन्छ,’ तिमल्सेनाले बताए ।
गमस कार्यक्रम अन्तर्गत हरेक गर्भवति महिलाको फाईल तयार गरिन्छ । उनीहरले के के जाँच गराए वा महिलाको लागि तोकिएको इन्डिकेटर पुरा भएपछि टिका टाँस गर्ने चलन छ । सो टिका टास्ने पद्धतीबाट हरेक भेलापछि गर्भवति महिलाको अवस्थाको रिपोर्ट, सुत्केरी हुँदाको जानकारी, साधारण सुत्केरी कि अप्रेशनवाला आदि सबै जानकारी हुन्छ ।
समूह गठन भएपछि गर्भवती भएको समयमा कम्तीमा चारपटक नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, आइरन चक्की, हरियो सागपात, फलफूल खानुपर्नेलगायतका कुरा सहज रुपमा थाह पाउन थालेको अनमी ज्योति खनालले बताइन् ।
त्यसो त तिलकपुरमा स्वास्थ्य चौकी भएपनि भवन अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्यले बर्थिङ सेन्टर दिएको छैन् । त्यसले गर्दा नवजात शिशुको अवस्था आफूहरुसंग सुरुमै नआउने तिमिल्सेनाले बताए । बर्थिङ सेन्टर भएमा आमा र शिशुको अवस्था अझ नजिकबाट हेर्न बुझ्न पाइने थियो ।
जिल्ला स्वास्थ्यले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाका सबै गाविसमा नवजात शिशुको लागि नाभी मलम लगाउने व्यवस्था मिलाएको छ । सो व्यवस्था गरेपछि आफूहरुलाई पनि निक्कै राहत मिलेको मिठू चौधरीले बताइन् । ‘पहिले पहिले त बच्चाहरुको नाईटो पाकेर हैरान हुन्थ्यो तर अहिले त्यो छैन् । नाभी मलमले खुबै काम गरेको छ ।’मिठुले भनिन् ।
उनले पछिल्लो समय थारु समुदाय परिबार समेत गर्भवती, सुत्केरी, नवजात शिशुको बारेमा निकै सचेत भएको बताइन । ‘कोही कोही मात्रै होलान घरमै सुत्केरी हुने नत्र सबै अस्पतालनै लैजान्छन, हिजो आज’ उनले भनिन् ।
हुनपनि अहिले संस्थागत सुत्केरीको आफ्नो गाविसमा ९२ प्रतिशत रहेको इन्चार्ज तिमल्सेनाले बताए । कुनैबेला धेरै सन्तान जन्माउने गाविसमा चिनिएको तिलकपुर अहिले जन्मदर समेत २ भन्दा माथि नभएको दावी गरे ।
सम्पर्क इमेल : [email protected]