आयुर्वेद अस्पतालमा डिजिटल र भिडियो एक्सरे जडान
दाङ, १४ पुस – क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी, दाङले डिजिटल एक्सरे र भिडियो एक्सरे सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई गुणस्तरीय तथा छिटो सेवा दिने उद्देश्यले डिजिटल एक्सरे र भिडियो एक्सरे जडान गरी सेवा दिन सुरु गरेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा ठाकुरप्रसाद दुवाडीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको रु ३० लाख सहयोगमा एक्सरे मेसिन खरिद गरी सेवा सुरु गरेको दुवाडीले बताए ।
त्यसैगरी, अस्पतालले रु तीन लाखको लागतमा गुणस्तरीय प्रयोगशाला सञ्चालनका लागि ऐनालाइजर मेसिन खरिद गरेको अस्पतालले जनाएको छ ।
डिजिटल एक्सरे र भिडियो एक्सरे जडानसँगै यहाँका स्थानीय बासिन्दालाई सेवा प्रदान गर्न सहज भएको डा. दुवाडीले बताए । “एक्सरे मेसिन सञ्चालनमा आएसँगै यहाँका बिरामीले गुणस्तरीय सेवा पाएका छन्, पुरानो मेसिनले राम्रोसँग काम नगर्ने समस्या थियो, हाल भने सहज भएको छ,” उनले भने ।
त्यसैगरी, अस्पतालले पञ्चकर्म सेवा, गर्भवती महिलाको जाँच गर्न पनि सुरु गरेको छ । सात जना डाक्टरको दरबन्दी रहेको यस अस्पतालमा हाल दुई जनामात्र डाक्टर हुँदा सेवा प्रवाहमा भने केही कठिनाइ उत्पन्न भएको अस्पतालले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

