भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

budflue
चितवन, २८ कात्तिक –  भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् ।

देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् ।

सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए ।
दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताउनुभयो । पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्को काम गरिँदै आएको बताउँदै उहाँले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने उल्लेख गरे ।

नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्यार्इं नगर्न सूचित गरिएको बताए। पक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उनले बताए ।

व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् ।

बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ ।

ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको बताए ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष शङ्करप्रसाद कँडेलले विगतको बर्डफ्लुबाट पाठ सिक्दै व्यवसायीले जैविक सुरक्षामा विशेष ध्यान दिएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

जिल्लामा कुखुराजन्य क्षेत्रमा रु ७५ अर्बको हाराहारीमा लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ । यो सङ्ख्या नेपालको ब्रोइलर पालनमा १० दशमलव २ र लेयर्समा ५८ दशमलव ९ प्रतिशत हो ।

तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *