स्वास्थ्यमन्त्रीलाई बुझाएको कार्ययोजनामा नयाँ पन देखिएन

mohp-copy

काठमाडौँ, ६ असोज – स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्यमन्त्री गगन थापाले उन्नत कार्ययोजना मागे पनि मातहतका निकायले नियमित कार्यक्रम नै समेटेर कामचलाउ कार्ययोजना बुझाएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका कतिपय महाशाखा र केन्द्रले झारा टार्ने हिसाबले नियमित तालिकामा रहेका तालिम सञ्चालनलाई नै विशेष कार्यक्रमका रूपमा पेस गरेको पाइएको छ ।

स्वास्थ्यमन्त्री थापाले एक हप्ताभित्र मन्त्रालयअन्तर्गतका सबै विभाग र महाशाखालाई कार्ययोजना बुझाउन निर्देशन दिएका थिए । तर, बुधबारसम्म मन्त्रालयभित्र नै रहेका मानव संसाधन र मूल्यांकन महाशाखाले कार्ययोजना पेस गरेका छैनन् ।

त्यसैगरी, तल्लो तहसम्म कार्यक्रम लैजान महत्वपूर्ण मानिएका पाँचवटा क्षेत्रीय स्वास्थ्य निर्देशनालयमध्ये चारवटाले कार्ययोजना बुझाएका छैनन् ।

यस्ता–यस्ता छन्, कार्ययोजना

परिवार स्वास्थ्य महाशाखा :  परिवार स्वास्थ्य महाशाखाले सुत्केरी अवस्थामा हुने मृत्युको अवस्था एनलाइसिसका लागि वेबसाइटमा आधारित प्रणालीलाई संस्थागत गर्ने कुरालाई सय दिनको मुख्य एजेन्डा बनाएको छ । पाँच जिल्लाका संस्थागत क्लिनिकहरू आधुनिक परिवार नियोजन सेवा एकीकृत रूपमा सञ्चालन गर्नसक्ने गरी सुदृढीकरण गर्ने उसको अर्को एजेन्डा छ ।

पुनर्जागरण महाशाखा : निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम लागू गर्नेदेखि ५५ देखि एक सय १० वटा सामुदायिक स्वास्थ्य युनिट तयार गर्ने जस्ता काम गर्ने योजना पेस गरेको छ । त्यसैगरी, नसर्ने रोगका लागि थप औषधिको व्यवस्था गर्ने, ०१६ देखि ०२० को पञ्चवर्षीय योजना लागू गर्ने जस्ता कार्यक्रम पेस गरेको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र : यो केन्द्रले विशेषगरी तालिम क्षमता वृद्धिलगायतका नियमित कामलाई नै प्राथमिकता दिएको छ । उसले तालिम व्यवस्थापन निर्देशिका निर्माण, परिवार नियोजनसम्बन्धी तालिम, क्षमता अभिवृद्धि तालिम, तालिमका प्याकेज जस्ता कार्यक्रम तीन महिनाको अवधिमा सञ्चालन गर्ने गरी कार्यक्रम पेस गरेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र : राष्ट्रिय क्षयरोग तालिम केन्द्रले कुनै पनि समयतालिका नहालीकन नियमित कार्यक्रमलाई नै तत्काल गरिने कार्यक्रम भनी पेस गरेको छ । उसले राष्ट्रिय छातीरोग अस्पतालको स्थापनाका सबै प्रक्रिया पूरा गरी शिलान्यास गर्ने, टिबी बिरामीका लागि फस्ट लाइन औषधि खरिद गर्ने, पाँच वर्षीय राष्ट्रिय क्षयरोग नियन्त्रण रणनीति बनाई स्वीकृतिका लागि पठाउने, नेसनल प्रभिलेन्स सर्भेको सबै डकुमेन्टेसनको काम पूरा गर्ने जस्ता कार्यक्रम पेस गरेको छ ।

व्यवस्थापन महाशाखा :  दुई सय ५० स्वास्थ्य चौकी, २० डाक्टर क्वार्टर, तीन नर्सिङ क्वार्टर, तीन अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र, पाँच अनमी क्वार्टर र आठ बर्थिङ सेन्टर गरी जम्मा तीन सय २१ वटा कार्य स्वीकृत गरी निर्माण प्रक्रिया अगाडि बढाउन भवन विभागमा पठाउने कार्यलाई प्रथमिकतामा राखेको छ । उसले क्षेत्रीय समीक्षा गोष्ठी र विभागको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा :सरुवारोगलाई नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण मानिएको यो महाशाखाले इबोला, इन्फ्लोइन्जा, बर्ड फ्लुलगायतका संक्रामक रोगहरूको रोकथामका लागि आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी तथा कार्यक्रम सञ्चालन निर्देशिका र अन्य निर्देशिकाहरूको छपाइ गर्ने कामलाई पहिलो नम्बरमा राखेको छ ।

बालस्वास्थ्य महाशाखा : बालस्वास्थ्य महाशाखाले पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रमलाई प्राथमिकता दिएको छ । त्यसैगरी, कास्की र चितवन जिल्लामा एचपिभी (पाठेघरको क्यान्सरविरूद्ध)को खोपको पहिलो मात्रा खोप प्रदान गर्ने जनाएको छ । साथै, नवजात शिशुको निःशुल्क उपचार कार्यक्रम निर्देशिका तयार गर्ने सयदिने कार्ययोजनाभित्र राखेको छ । त्यस्तै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण ऐनअनुसार अनुगमन गर्न निरीक्षक तोकी कार्य जिम्मेवारी दिने र फुड बेस डाइरेक्टरी निर्देशिका तयारी तथा स्वीकृत गर्ने प्रक्रियामा लाग्ने जनाएको छ ।

जनस्वास्थ्य प्रयोगशाला : जनस्वास्थ्य प्रयोगशालाले रिफ्रेसमेन्ट तालिम सञ्चालन गर्नेदेखि क्यान्सर परीक्षणको मेसिन जडान गर्नेसम्मको सयदिने योजना तयार पारेको छ । मेसिनका लागि खरिद प्रक्रिया तत्काल खरिद प्रक्रिया सुरु गर्ने कार्ययोजनामा उल्लेख छ । स्वास्थ्यमन्त्रीलाई बुझाएको सयदिने कार्यक्रममा भेरी अञ्चल अस्पताल र सेती अञ्चल अस्पतालमा सिकलसेल एनिमिया रोग परीक्षणका लागि मेसिन जडान गरी परीक्षण सुरु गर्र्ने जनाइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र : जनस्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रले सूचना तथा सञ्चार कार्यक्रम सञ्चालन पुस्तिका विकास तथा छपाइको कार्यक्रमलाई प्राथमिकता दिएको छ । उसले हाल रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण भइरहेका कार्यक्रमलाई निरन्तरता दिने र जनस्वास्थ्यका कार्यक्रमलाई अगाडि बढाउने गरी कार्ययोजना तयार गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम : स्वास्थ्य बिमा कार्यक्रमलाई थप २२ जिल्लामा कार्यालयहरू स्थापना गर्ने कामलाई सामाजिक सुरक्षा कार्यक्रमले राखेको छ । उसले यो समयमा जिल्ला संयोजन समितिको निर्माण गर्ने, सामाजिक सुरक्षा कार्यक्रमको सरोकारवालासँग छलफल गर्नुजस्ता कार्यक्रम राखेको छ।

कुष्ठरोग नियन्त्रण महाशाखा: कुष्ठरोगसम्बन्धी २०१६–०२० रणनीति तयार गर्ने कार्यलाई प्रमुख कार्यक्रमको रूपमा राखिएको छ । नियमित रूपमा चलिरहेको कुष्ठरोग निवारण अभियान सञ्चालन गर्ने, उपचारमा रहेका बिरामीका परिवार तथा छिमेकीको सम्पर्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने, कुष्ठरोगसम्बन्धी फोकल क्याम्पेन गर्ने महाशाखाले पेस गरेको छ ।

यस्ता पनि कार्ययोजना !

राष्ट्रिय छातीरोग अस्पताल स्थापनाका सबै प्रक्रिया पूरा गरी शिलान्यास गर्ने, वेबसाइटमा आधारित प्रणालीलाई संस्थागत गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्तरवृद्धि तालिम गर्ने, स्वास्थ्य सेवा विभागको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गर्ने, योजना तर्जुमा गोष्ठी तथा कार्यक्रम सञ्चालन निर्देशिका र अन्य निर्देशिकाहरूको छपाइ गर्नेजस्ता सामान्य कार्यक्रम पनि कार्ययोजना भनेर बुझाइएको छ ।

यसैगरी, पूर्ण खोप सुनिश्चितता भएका जिल्ला घोषणा कार्यक्रम, रिफ्रेसर ट्रेनिङ सञ्चालन गरिने, पूर्ण स्तनपान प्रवद्र्धन, सामाजिक सुरक्षा कार्यक्रमको सरोकारवालासँग छलफल, कुष्ठरोग निवारण अभियान सञ्चालन, अनलाइन व्यवस्थित गर्ने जस्ता कार्यक्रम पनि समेटिएका छन् ।

  • आजको नयाँ पत्रिकामा भिषा काफ्लेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *