निमोनियाको सिकार बन्दै भूकम्पपीडित

सिन्धुपाल्चोक, २३ साउन – जिल्लाका अधिकांश भूकम्पपीडित यतिबेला टेन्ट, पुराना टिनको छानो र चिसो जमिनमा शरण लिन बाध्य छन् । जसका कारण अहिले दिनप्रतिदिन अधिकांश भूकम्पपीडित निमोनियाको सिकार वन्दै गइरहेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा रहेका अधिकांश भूकम्पपीडित यतिबेला सबै चिसो जमिनको पानी चुहिने छिँडीमा रात बिताउन बाध्य छन् । जसका कारण पछिल्लो समय जिल्लामा चिसोका कारण लाग्ने निमोनियाजस्ता रोग बढ्दै गएका छन् ।

पानी परेपछि टेन्ट र टिनको छानाबाट पानी छिर्ने र टहरोभित्र पूरै जलमग्न हुने गरेको भोटेचौरका स्थानीयवासी रुद्र केसीले बताए ।

केसी भन्छन् ,“चिसोले टहरोभित्र पूरै हिलाम्मे हुन्छ अन्नपात, लत्ताकपडा पूरै पानीले नष्ट गर्ने गरेको र चिसोले वृद्धवृद्धा, बालबच्चा र सुत्केरीलाई बढी सताउने गरेकाले निमोनियाको सिकार वन्नुपरेको छ ।”

गतवर्ष १२ वैशाखको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकलगायत अन्य १४ जिल्लामा समेत नराम्रो प्रभाव पारेको छ जसका कारण वासस्थान गुमाएर टेन्टमा पुगेका र टिनको छानामुनिको कष्टकर जीवन बिताउनु परेका कारण चिसोले निमोनिया हुने गरेको छ ।

पहिलेको तुलनामा भूकम्पपछि जिल्लाभरि नै निमोनियाका बिरामी अस्पतालमा भर्ना हुनेको सङ्ख्या धेरै छ । प्रायः सबै भूकम्पले घर भत्किएपछि वासस्थानको राम्रो वन्दोबस्त नभएका कारण चिसोले सताएर निमोनिया हुने गरेको बताउँछन् ।

विशेषतः भूकम्पपछि बालबच्चा र वृद्धवृद्धालाई बढी निमोनियाले सताउने गरेको पाइएको छ । जागेश्वरी मेडिकल हल मेलम्चीका डा वैद्यनाथ गुप्ताका अनुसार भूकम्पअघि र पछि निमोनिया भएर उपचार गर्न आउनेको सङ्ख्यामा ठूलो अन्तर छ । उनी भन्छन्, – “भूकम्पपछि निमोनियाको उपचारका लागि आउनेको सङ्ख्या दोब्बर छ ।” दैनिक तीनदेखि चार जनासम्मको सङ्ख्यामा जागेश्वरी मेडिकल हलमा उपचार गराउन आउँछन् भने अझै प्राथमिक स्वास्थ्य केन्द्र र अन्य मेडिकलमा उपचार गराउनेको सङ्ख्या पनि उत्तिकै ठूलो छ ।

अविरल वर्षाका कारण टहराभित्र छिर्ने पानीको भल र टिनको छानोबाट चुहिने पानीका कारण निकै पीडादायी जीवन गुजार्दै आएको थाङ्पालकोटका सहायक गाविस सचिव कुमार बस्नेतले बताए।

पुनःनिर्माणको कार्यमा सरकारले जति छिटो गति लिनुपर्ने हो त्यति लिन नसकेको र राजनीतिक अस्थिरताका कारण पनि पुनःनिर्माण अघि बढ्न नसकेको भूकम्पपीडिले आरोप लगाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *