अब सूर्ति नियन्त्रणमा लाग्ने व्यक्ति तथा संस्थालाई ५० हजार राशीको पुरस्कार दिइने
काठमाडौँ, १८ साउन – सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रणमा क्रियाशिल व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न ‘स्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार’ स्थापना गरेको छ । स्वास्थ्य मन्त्रालयले स्थापना गरेको सो पुरस्कार अव देखि हरेक बर्ष विश्व धूमपानरहित दिवशका बेला वितरण हुनेछ । विभिन्न ६ विधामा प्रदान हुने उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।
सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रंअंकित स्वास्थ्य सन्देश राख्नुपर्ने नियम ल्याएबापत दुई बर्ष अघि नेपालले एक लाख अमेरिकी डलर राशीको व्लुम्बर्ग फिलान्थ्रोपिक अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको थियो । सोही अवार्डबाट प्राप्त रकमलाई स्वास्थ्यमन्त्री व्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार अक्षय कोष स्थापना गरि पुरस्कार दिने व्यवस्था गर्न लागिएको हो ।
मन्त्रालयका अनुसार जनही ५० हजार दरको उक्त पुरस्कार सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन तथा सूर्ति सेवन गर्ने कार्य विरुद्ध जनचेतना जगाउने कार्यमा योगदान पुरयाउने व्यक्ति, गैरसरकारी संस्था, कानून कार्यान्वनय गर्ने निकाय वा त्यसमा कार्यरत कर्मचारी, सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कार्यमा सहयोग पुरयाउने पत्रकार सहित ६ जनालाई प्रदान गरिनेछ ।
हरेक बर्ष ६ जनालाई ५० हजारको दरले प्रदान गरिने उक्त पुरस्कार वितरण गर्न मन्त्रालयले स्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार अक्षय कोष (सञ्चालन) कार्यविधि, २०७३स्थापना गरेको छ । गत साउनकै पहिलो साता स्वास्थ्य मन्त्री रामजनम चौधरीले सो कार्यविधिलाई स्वीकृति दिएपछि पुरस्कार सम्वन्धी कार्य अघि बढेको हो ।

कार्यविधिमा पुरस्कारको लागि छनौट गर्न स्वास्थ्य सचिवको अध्यक्षत र कानून अधिकृत सदस्य सचिव रहेको सात सदस्यीय समिति हुने उल्लेख छ । सो समितिले सूर्तिजन्य पदार्थको नियन्त्रण तथा अनुगमन कार्यमा कसले कसरी काम गरिरहेको छ भनेर हेर्नेछ ।
मन्त्रालय कानून शाखा उपसचिव खिमानन्द भुसालले पुरस्कार सम्वन्धी सबै व्यवस्था भइसकेको भन्दै आउदो बर्ष देखि विभिन्न छ विधामा पुरस्कार वितरण हुने जानकारी दिए । उनले अन्तराष्ट्रिय अवार्डबाट प्राप्त रकम क बर्गको बाणिज्य बैकको मुद्धती खातामा राखि आउने व्याजबाट हरेक बर्ष पुरस्कार दिन लागिएको बताए ।
द युनियनका क्षेत्रीय उप निर्देशक डा. तारासिंह बमले स्वास्थ्य मन्त्रालयको यो निर्णय प्रति खुशी व्यक्त गरे । उनले यस्तो खालको पुरस्कार दिने परिपाटीले नेपालमा सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रणको काम नेपालमा थप प्रभावकारी रुपमा अघि बढ्ने बताए । ‘सरकारी गैरसकारी मिडिया तथा नागरिक समाजका प्रतिनिधी जो सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि खटेको छ यस्ता व्यक्तिलाई दिने भनिएको यो पुरस्कारले निश्चय पनि सूर्तिजन्य पदार्थ नियन्त्रणका लाग खटिएका व्यक्ति तथा संस्थालाई उत्प्रेरणा हुनेछ र अझ चाखलाग्दो कुरा नेपालको यो कदमले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सरोकारवालाबीच कसरी हातेमालो गर्न सकिने रहेछ भन्ने दक्षिण पूर्वी एसिया र बाँकी विश्वलाई सन्देश प्रदान गर्नेछ,’ उनले भने ।