औँला चुस्ने र नङ टोक्ने बालबालिकामा एलर्जीको सम्भावना कम !
एजेन्सी – औला चुस्ने र नङ टोक्ने बालबालिकाको सबैभन्दा खराब बानी मान्छौँ । त्यस्तो बानी भएका बालबालिकालाई अनेक खालका रोगहरु लाग्छ भन्दै छुटकाराको प्रयास पनि गराउछौँ तर हालै गरिएको एक अध्ययनले औँला चुस्ने र नङ टोक्ने बालबालिकामा एलर्जीको खतरा कम हुने अचम्मको तथ्य बाहिर ल्याएको छ ।
पेडियाट्रिक्स जर्नलमा प्रकाशित सो अध्ययनले केही किटाणु जिवाणुको संक्रमणले मात्रै पनि शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाउने भन्दै औँला चुस्ने र नङ टोक्ने बालबालिकामा एलर्जीको सम्भावना कम भएको बताएको हो ।
न्युजिल्याण्डमा गरिएको सो अध्ययनमा विभिन्न उमेर समुहका करिब १ हजार बालबालिका सहभागी थिए । जसमा एक तिहाई औँला चुस्ने र नङ टोक्ने बानी भएका थिए । त्यसमा ५, ७, ९ र ११ बर्ष उमेर समूहमा गरियो र एलर्जी १३ र ३२ बर्षमा परीक्षण गरिएको थियो । यिनै बालबालिकामा १३ बर्षको उमेरमा एलर्जीको सम्भावना कम भएको अध्ययनकर्ताहरु बताउछन् ।
अध्ययनमा भनिएको छ, ‘धुलो, विरालो, कुकुर आदिबाट हुने एलर्जी यो बानी औला चुस्ने बालबालिकामा नचुस्नेमा भन्दा एक तिहाईले कम भेटियो ।’ एलर्जीप्रतिको यो प्रतिरक्षा युवाअवस्थासम्म पनि रहने युनिभर्सिटी अफ ओटागोको विज्ञहरुले दावी गरेका छन् ।
क्यानडाका म्याक मास्टर युनिभर्सिटीका अनुसन्धानकर्ता प्रो म्याल्कम सियर्स भन्छन्, ‘बालबालिकालाई औला चुस्ने र नङ टोक्ने जस्ता गतिविधिमा सम्लग्न हुन् प्रोत्साहित गर्दैनौँ तर यिनै बानीको सकारात्मक पक्ष भेटिनु अचम्मको कुरा हो ।’