गर्मीका बेला आँखामा देखिने समस्या र समाधानका उपाय

dr. leena bajracharya
डा. लिना बज्राचार्य नेत्र विशेषज्ञ

गर्मी मौसम सुरु  हुन थालेको छ । यो मौसम आँखाको एलर्जी बढाउने, सुख्खा हुने मौसम हो ।

त्यसैले बढदो गर्मीसंगै आँखाका समस्या लिएर अस्पताल धाउनेको संख्या समेत बृद्धि हुन थालेको छ । यो मौसममा प्राय मानिसहरुका आँखामा रातो हुने, चिलाउने, विजाउने, आँखाको वरिपरी कचेरा (चेप्रा) लाग्ने समस्या देखिन सक्छ ।

मौसमको कारणले हुने एलर्जी प्राय ९–१० वर्ष देखी २०–२२ वर्ष सम्मका युवाहरुलाई बढी सताउछ । अझ त्यसमा पनि केटी भन्दा केटाहरुलाई बढी समस्या हुन्छ । केटालाई समस्या बढी देखिनुको कारण रगतमा हुने फरक हार्मोनको कारणले हो ।

किन हुन्छ यो मौसममा समस्या ?

चैत बैशाख बसन्त ऋतु बोटविरुवाहरु पालुवा पलाउने, बढी फुल खेल्ने समय पनि हो । सुख्खा हुने र बढी हावाहुरी चलेर धुलो पनि यहि मौसम नै हो । यहि मौसममा घाम समेत चर्को हुुन्छ ।

रुख विरुवाको फुल फुल्दा त्यसमा असंख्य पराग (पोलिनग्रिन)हरु हुन्छ । तर ती ‘पोलिनग्रीन’हरु हावाको बेगसंगै फुलबाट छुटिन्छ र बाताबरणमा घुमिराखेको हुन्छ । हावाकै माध्यमबाट त्यो हाम्रो आँखा भित्र छिर्छ । त्यो पोलिनग्रीनहरुले आँखाको भागमा पर्ना साथ चिलाउने आँखा रातो हुने र चेप्रा लाग्ने गर्छ । तर यो सरुवारोग भने होइन ।

गर्मीका बेला मौसम सुख्खा हुने भएकोले हावाहुरी बढी चल्छ । त्यसले उडाएका धुलोका कणहरु सिधै हाम्रो आँखामा पर्दा एलर्जी निम्त्याउछ । यसरी हुने एलर्जीले पनि आँखा रातो,  हुने कोषहरु सुन्निने र चेप्रा लाग्ने गर्छ । अर्को भनेको सूर्यबाट आउने विकिरणले पनि हाम्रो आँखालाई समस्या पार्छ । यो मौसममा तेजीलो प्रकाससंगै विकिरणहरु पनि आएका हुन्छन। त्यसबाट समस्या निम्त्याउछ ।

एलर्जी सरुवा रोग भने होइन तर यसलाई वंषाणुगत हो भनेर मान्न सकिन्छ । किनभने परिवारको कुनै सदस्यलाई छ भने त्यसबाट जन्मेका सन्तानलाई पनि यो समस्या दोहोरिने सम्भावना बढी हुन्छ । एलर्जी शहरमा मात्रै होइन यो मौसममा खेती किसानी गरी गाँउमा  बस्नेहरुलाई पनि देखिन सक्छ । खेतबारीमा काम गर्दा होस या बन जंगल वरपर बस्दा पनि पोलिनहरु र धुलाका कणहरु आँखामा परी समस्या निम्त्याउन सक्छ ।

यो मौसममा आँखामा देखिने अर्को समस्या भनेको ड्राई आई (आँखा सुख्खा ) हनु हो । हाम्रो आँखाको सधै आँशुले भिजेको हुनुपर्छ । तर गर्मी सिजनमा घाममा बढी काम गर्ने, धुलोमा काम गर्नेहरुको आँखा बढी सुख्खा हुन्छ । आँखा सुख्खा भएपछि पोल्ने बिजाउने , चिलाउने हुनसक्छ । त्यो भयो भने आँशुको झोल ( आर्टिफिसियल टियर ) समय समयमा राखी राख्नु पर्छ । त्यसले चिलाउने रातो हुने र चिप्रा आउने कम हुँदै  जान्छ । आँखाको दुखाईबाट मुक्त गराउछ ।

त्यो बाहेक गर्मी मौसममा हावामा फैलने जिवाणु तथा किटाणुहरुको स्पर्स आँखाको भित्री भागमा परी त्यसले गर्ने इन्फेक्सनबाट पनि असर देखिन्छ ।

के गर्ने त ?

मौसम र बाताबरणका कारण सक्रिय हुने एलर्जीबाट जोगिने भनेको आफूले अपनाउने सावधानी नै हो । घामका विकिरणहरुबाट जोगिन छत्रे टोपी (क्याप) लगाउने, छाता ओडने , धुलोबाट जोगिन चस्मा लगाउने गर्नुपर्छ ।

चर्को घाममा नबस्ने तथा आँखामा चिलाउने रातो हुने भयो भने चिसो पानी – आइसकोल्ड पानीले बाहिरबाट सेक्न सकिन्छ । त्यसबाहेक आँखा भित्र आर्टिफिसियल टियर( आसुको झोल) ले पनि सफा गर्न सकिन्छ ।

गाँउघरमा आर्टिफिसियल आँशु नपाउन सकिन्छ त्यस्तो बेलामा उमालेको पानी ( डिस्टिल वाटर) ले पनि सफागर्न सकिन्छ । तर समस्या परेका बेलामा जुन पायो त्यहि पानी आँखामा पार्नु हुदैन । त्यसरी प्रयोग गरिने पानीमा ‘व्यक्टेरिया प्रोटोजोआ’पनि हुनसक्छ ।

यसरी साधारण उपायले पनि समाधान भएन भने नजिकको आँखा उपचार केन्द्र वा नेत्र विशेषज्ञलाई देखाउन ढिला गर्नु हुदैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *