बाल हिंसा थाह पाउन चिकित्सकलाई प्रशिक्षण

IMG_20160505_142603

काठमाडौँ – अस्पताल आएका बालबालिकाहरु हिंसामा परेका हो कि होइनन् ? परेका खण्डमा कसरी उपचार, संरक्षण र उद्धार गर्ने भन्ने बारेमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ ।

रोयल कलेज अफ पेडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके, एडभान्स लाइफ सपोर्ट ग्रुप युके सहयोगमा कान्ति बाल अस्पतालले यो तालिमको आयोजना गरेको हो ।

तालिममा कान्ति, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी, नेशनल मेडिकल कलेज बीरगञ्ज, ग्रीनसिटी अस्पताल बसुन्धरा, ओम अस्पताल चावहिलका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी तीन दर्जनको सहभागीता थियो ।

प्रशिक्षक प्रशिक्षण लिएकाहरुले अब अन्य स्वास्थ्यसंस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हिंसामा परेका बालबालिका चिन्ने, उपचार गर्ने तथा सरक्षण गर्ने उपायका बारेमा तालिम दिनेछन् ।

तालिम दिन वेलायतबाट आएका मुख्य प्रशिक्षक प्राडा क्रिस हव्सले अस्पताल आउने कतिपय बालबालिहरु हिंसामा परेका हुनसक्ने भन्दै त्यसबारे चिकित्सकले थाह पाउन अनिवार्य हुने बताए । उनले बालबालिकाहरुको समस्या थाह नपाएको खण्डमा सहि निदान समेत नहुने दावी गरे ।

‘विश्वका सबैजसो मुलुकमा बालहिंसा समस्याको रुपमा देखिएको भन्दै यसको रोकथामका लागि चिकित्सक सहित अन्य सरोकारवाला निकायहरुबीच समन्वय हुनुपर्ने बताए । सबैभन्दा पहिले त चिकित्सकनै यसको जिम्मेबार हो , त्यसपछि प्रहरी, मन्त्रालय, बालकल्याण, जस्ता निकाएहरुको पनि जिम्मेबारी हुन्छ,’ प्राडा हव्सले भने ।

बेलायतबाटै आएका नेपाली प्रक्षिणक डा. दीपक उपाध्यायले कतिपय बालबालिकाहरुले डरका कारणले आफूमाथि भइरहेको हिंसा दवाएर राख्ने गरेको र जसले मानसिक समस्या समेत निम्त्याउने गरेको बताए । उनले धनी र गरीव विकसित र अविकसित सबै मुलुकमा बालहिंसा भइरहेको दावी गर्दै यसको स्वरुपमा मात्रै भिन्नता हुने बताए ।

डा. नीला शाबदेले बालबालिकाहरुमा हुने सबै किसिमका हिंसाका लागि चिकित्सक, नागरिक समाज, प्रहरी प्रसाशन, गैरसरकारी संस्थाको सबैको उत्तिकै दायित्व हुने बताइन् । उनले धेरै जसो केस अस्पतालमा आउने भएकोले सहि पहिचान गर्नका लागि चिकित्सक बढी चनाखो हुनुपर्ने औल्याइन् ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ एवं प्रशिक्षक डा कृष्णप्रसाद पौडेलले तालिमले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बाल मनोविज्ञान अनुसार हिंसा परेको छ छैन बुझ्न सजिलो हुने बताए । उनले हिंसामा परेको थाह पाएर पनि को संग कसरी समन्वय गर्ने भन्ने जानकारीको अभावमा चिकित्सकहरुले अलमलमा पर्ने गरेको भन्दै तालिमपछि त्यो अलमल दुर भएको बताए ।

नेपालमा ५ देखी १४ बर्ष उमेर समूहका करीब ३४ प्रतिशत बालबालिकाहरु श्रम बेच्न बाध्य भएको विभिन्न तथ्यांकले देखाएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा झण्डै १४ प्रतिशत बालबालिकाहरु यौनजन्य हिंसामा परेको पाइएको छ । करीब १२ हजार बालबालिका बेचविखन र १५ बर्ष भन्दा कम उमेरका झण्डै ५ हजार बालबालिकाहरु यौनकर्मीका रुपमा लाग्न बाध्यछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *