भारतमा नावालकलाई सुर्तीजन्य पदार्थ बेचे सात बर्ष जेल !

No smoking

एजेन्सी / मुम्वई – भारत सरकारले नाबालकलाई सुर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण नियमवालीले १८ बर्ष मुनिका बालबालिकालाई नावालक भन्दै सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।

शुक्रबार देखी लागु भएको नयाँ नियमले १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री बितरण गरेको पाइएमा व्यापारीलाई  सात बर्ष जेल र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएको छ । यो नियमसँगै नावालकहरुलाई तथा नाबालकद्धारा गराइने सुर्तीजन्य पदार्थको विक्री विरुद्ध कडा नियम बनाउने भारत संसारकै पहिलो देश बनेको छ ।

यसअघि चुरोट तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमावली २००३ ले नावालकहरुलाई गरिने बिक्री वितरणबाट जोगाउन सकेको थिएन । यो नियमावलीले जम्मा दुई सय रुपैयाँ जरिबाना र तीन महिना जेल सजाय तोकेको थियो । तर अहिलेको कानूनले बालबालिकालाई प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ ।

गत शुक्रबार देखी लागू भएको सो नियमको सुर्तीजन्य पदार्थको विरुद्ध क्रियाशिल संघसंस्था तथा बालअधिकारकर्मीहरुले स्वागत गरेका छन् । उनीहरुले अब १८ बर्ष मुनिका बालबालिकाहरु चुरोट, पान मसला, विडी, खैनी, गुडखा लगायतका सुर्तीजन्य पदार्थको प्रयोगबाट बच्ने विश्वास गरेका छन् ।

मुम्वईस्थित टाटामेमोरियल हस्पिटलका प्राध्यापक डाक्टर पंकज चर्तुर्वेदीले सरकारको नयाँ नियमको स्वागत गरेका छन् । उनले भनेका छन् , ‘बालबालिकाहरु जुन कुरामाथि प्रतिवन्ध लगाइएको हुन्छ , त्यो कुरा प्रयोग गर्न उत्सुक हुन्छन् ,जव सुर्तीजन्य पदार्थका उत्पादकहरु विज्ञापनको सहायताले यी पदार्थको विज्ञापन गर्छन बालबालिकाहरु सहजै फस्ने गर्छन । नयाँ नियमको कार्यान्वनय संगै अव बालबालिका कुलतमा फस्ने सम्भावना कम भएको छ ।’ नयाँ नियममा एक शैक्षिक संस्था वरपर एक सय मिटरमा पनि सुर्तीजन्य पदार्थको विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा सूर्तिजन्य पदार्थको सेवन गर्न सुरु गर्ने उमेर समूह १७ बर्ष छ । ग्लोवल युथ टोबाको सर्भेका अनुसार  २० प्रतिशत बालबालिकाहरु सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको र दैनिक रुपमा करीब ५ हजार ५ सय नयाँ बालबालिका तथा युवा किशोरहरु सुर्तीजन्य पदार्थको सेवनको सुरुवात गर्छन ।

अनुसन्धानकर्ताहरुले यदि कोही व्यक्ति १८ बर्षसम्म सुर्तिजन्य पदार्थको लतमा छैन भने त्यसपछि सो व्यक्तिमा सुर्तीजन्य पदार्थको लत लाग्ने सम्भावना अत्यन्त न्युन हुने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *