शरीर खोज्छ फलफुल, हामी रोज्छौँ मदिरा : आवश्यकता अनुसार फलफुल खाने नेपालीको संख्या एक प्रतिशत मात्रै !

नेपाली हेल्थ/ काठमाडौँ –fruit and wine

नेपालमा करीव १ प्रतिशत जनताले मात्रै शरीरको आवश्यकता अनुसारको फलफुल तथा तरकारी खाने गरेका छन् । तर महिनामा कम्तीमा एकपटक मदिरा सेवन गर्नेको संख्या भने साढे १७ प्रतिशत नाघेको छ ।

विश्वस्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषदले  गरेको नसर्ने रोगको जोखीम पक्षसम्बन्धी सर्वेक्षणले स्वस्थ शरीर बनाउनका लागि महत्वपूर्ण मानिने फलफुल तथा तरकारी आवश्यकता अनुसार नखाने र हानी गर्ने मदिरा आवश्यकता भन्दा बढी खानाले रोगको जोखिम बढाएको निष्कर्ष निकालेको छ ।

अनुसन्धानले आवश्यक अनुसार फलफुल नखानेकोे प्रतिशत ९८.९ देखाएको छ । तर शरीरलाई हानि गर्ने नै भएपनि सेवनकर्ता मध्ये दैनिक १७ प्रतिशतले दैनिक सेवन गर्ने गरेको पाइएको छ । अनुसन्धानले दैनिक सेवन गर्नेमा महिला र पुरुषको प्रतिशत पनि बराबर जस्तै देखाएको छ । चिकित्सकहरु भने फलफुल तथा तरकारी कम खाने र मदिरा बढी खाने प्रबृतिले रोगको जोखिम बढने बताउछन् ।

परिषदका सदस्य सचिव डा खेमबहादुर कार्की नेपालीहरुको खानपान र जीवनशैली स्वास्थ्यको दृष्टिले ठ्याक्कै उल्टा जस्तो भएको बताउछन् । ‘फलफुल तथा तरकारीको सेवन दर बढाउनुपर्नेमा कम हुँदै  गएको छ , रक्सीको सेवन दर घटाउनुपर्नेमा बढ्दै  गएको छ । यसले मुटु, क्यान्सर, मधुमेह तथा उच्चरक्तचाप जस्ता स्वास्थ्य समस्या बढाउछ ।’ उनले नेपालमा मापसे अभियान सुरु भएपनि सेवनदर नघटेको बताए । ‘रेष्टुरेन्टमा खाने दर कम भएको छ तर घरमै बसेर खाने क्रम बढेको छ’ उनले भने ।

बरिष्ट मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी पनि स्वस्थ रहनका लागि फलफुल र सागसव्जीमा बढी ध्यान दिन आग्रह गर्छन । ‘कलेजो क्यान्सर रोगको लागि रक्सी विष बराबर नै हो । मुटुको लागि पनि निश्चित मात्रा भन्दा बढी भए हानी नै गर्छ । फाइदा गर्दै गर्दैन ।’उनले हरियो सागपात र फलफुल कम खाने, मदिराजन्य पदार्थको प्रयोग बृद्धि गर्ने । शारीरिक व्यायम गर्न छाडने , मासु तथा चिल्लो पदार्थको सेवन बढी गर्ने प्रबितिले भयावह अवस्थाको जोखिम बढाएको बताए ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ शरीरका लागि दैनिक तरकारी तथा फलफुल गरी कम्तीमा ५ ‘सर्भिङ’ अर्थात ४ सय ग्राम खानुपर्ने मापदण्ड तोकेको छ । त्यसमा फलफुल र तरकारी मिलाएर खान सकिन्छ । एक ‘सर्भिङ’को मात्रा ८० ग्राम हुन्छ । केही अनुसन्धानले निरोगी पुरुषले बढीम २ युनिट र महिलाले बढीमा १ युनिटसम्म मदिराजन्य पदार्थको सेवन गर्न सकिने बताएको छ । सर्भेक्षणले भने नेपालमा १७.७ प्रतिशतमा बढीतौल र ४ प्रतिशतमा मोटोपनाको समस्या देखाएको छ ।

उक्त सर्भेक्षणका अनुसार धेरै मानिसहरुमा नसर्ने रोगको पूर्वावस्थामा हुने मेटावोलिक परिवर्तन भैरहेको, एक चौथाई मानिसहरुमा उच्च रक्रचापको समस्या भई औषधीको सेवनगरिरहेको, २२.७ प्रतिशतमा कोलेस्टेरोलको समस्या रहेको, २५.२ प्रतिशत मानिसहरुको रगतमा बोसाको मात्रा बढने आवश्यकता भन्दा बढी रहेको देखाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *