इन्डोनेसियाको बालीमा भएको सातौँ एपिक्याट सम्मेलन सम्पन्न :

‘मुख्य उद्धेश्य जीवन जोगाउने’

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि भरतपुर महानगरको प्रतिवद्धता यस्तो

काठमाडौँ, १९ मंसिर ।  इन्डोनेसियाको बालीमा गत विहीबार देखि सुरु भएको स्वास्थ्य र विकासका लागि संगठित भएका एशिया प्यासेफिक क्षेत्रका मेयरहरुको सातौँ शिखर सम्मेलन ‘एपिक्याट’ सम्मेलन शनिवार सकिएको छ ।

सम्मेलनले पाँच बुँदे बाली घोषणा पत्र समेत जारी गरेको छ ।

यसपटकको सम्मेलनमा १० देशबाट ३०८ जना प्रतिनिधिहरु सहभागी थिए । त्यसमा ४८ जना मेयरहरुको प्रत्यक्ष रुपमा उपस्थिति थियो । यस्तै आफ्ना प्रतिनिधि पठाई संक्रिय सहभागिता जनाउने नगरहरुको संख्या ६२ रहेको थियो । यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा सक्रिय युवाको संस्थाहरुबाट २०३ जनाले सहभागिता जनाएका थिए भने विभिन्न देशका सञ्चारमाध्यमको तर्फबाट ३१ जनाको सहभागिता थियो ।

स्थानीय जनजीवनको विषय बढी मात्रा स्थानीय सरकारले नै बुझेको हुन्छ । नगरपालिका त्यहि स्थानीय सरकार हो । त्यसको नेतृत्व मेयरले गर्दछ । आफ्ना नगरलाई स्वस्थ राख्नका लागि चाल्नु पर्ने कदम र आवश्यक नीति बनाउने अधिकार पनि त्यहि पालिका र मेयरले बढी राख्दछ ।
नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको भयावह अवस्था रोक्नका सन् २०१६ मा गठन भएको एपीक्याटमा अहिलेसम्म एशिया प्यासेफिक क्षेत्रका १२ वटा देशका १२२ वटा नगरहरु एपिक्याट सदस्य भईसकेका छन् । बाँकी नगरहरु सदस्य बन्ने प्रक्रियामा छन् ।

एपिक्याटको सातौँ सम्मेलनलाई सफल बनाउन द युनियनले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । इन्डोनेसियाको बोगर, देनपासर र क्लुङ्कुङ्ग सीटी तथा फिलिपिन्सको बालाङ्गा सिटी मुख्य आयोजक हुँदा इन्डोनेसियाकै स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, ब्लुम्बर्ग फिलान्थ्रोपिज सहयोगीको भूमिकामा देखा परेका थिए । यस्तै उदायना युनिभर्सिटी, क्याम्पियन फर टोबाको फ्रि किड्स, भाइटल स्टाटेजी, एपिक्याट पार्लियामेन्ट, एपिक्याट मिडिया लगायतका संस्थाहरु पनि सहयोगीको भूमिकामा देखिएका थिए ।

यस पटकको सम्मेलनमा विशेष आकर्षण थियो टोवाको फ्रि युथ फेस्टिवल । विभिन्न देशबाट सहभागीता जनाएका युवाहरुले सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्नका लागि आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए र छलफल पछि सात बुँदे निस्कर्ष समेत निकालेका थिए । नयाँ पुस्ताका युवा तथा किशोरहरुले सुर्तीजन्य पदार्थको कुलतमा लागेको र यसलाई रोक्नका लागि युवाहरुले नै विशेष अभियान सञ्चालन गर्न संक्रिय हुने निस्कर्ष निकालेका थिए । टोवाको फ्रि जेनरेसन का लागि आफूहरुले गरेका कार्यक्रम र गतिविधिहरु देखाएका थिए ।

यस्तै सम्मेलनमा एपिक्याट मिडियाको तर्फबाट वान हेल्थ एप्रोचका बारेमा भर्च्युअल अन्तरक्रिया कार्यक्रम गरिएको थियो । विभिन्न देशका मेयर, जनस्वास्थ्य विज्ञहरुले सुर्तीजन्य पदार्थको प्रयोगले हुने हानीले गर्ने असरका बारेमा प्रस्तुति दिएका थिए । सुर्तीजन्य पदार्थको प्रयोगले हुने हानीका बारेमा एकीकृत ढंगले कसरी समेटन सकिन्छ भनेर उनीहरुले आफ्ना आइडिया प्रस्तुत गरेका थिए ।

स्वास्थ्य पत्रकार मञ्च सहित ८ वटा संस्थालाई अवार्ड

कार्यक्रमको दौरानमा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको थियो । नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अवार्ड प्रदान गरिएको हो ।

अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिकका प्रतिनिधि केली लार्सन र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा सरकारी तथा गैरसरकारी गरी आठ वटा निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसरी अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका थिए ।

यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको थियो ।

‘मुख्य उदेश्य जीवन बचाउने’

सम्मेलन समापनको अवसरमा दी युनियन एशिया प्रशान्त क्षेत्रका निर्देशक डा. तारासिंह बमले सम्मेलनको मुख्य उदेश्य जीवन बचाउनु रहेको बताए । उनले त्यसका लािग नेतृत्व, जवाफदेहिता र स्थिरता मुख्य कडी रहेको उल्लेख गरे ।

‘नेतृत्वले योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने साहस गर्नु जरुरी छ । यस्तै गरेका कामहरुमा जवाफदेहिता र स्थिरता हुँनै पर्दछ । यति गर्न सकेमा जनताको जीवन बचाउन अभियानमा हामी सफल हुन्छौँ । यो सम्मेलन गर्नु सार सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपछृ भन्ने उदेश्यनै हो,’ उनले भने ।

डा बमले सरकार तथा नीति निर्माताले कर र मूल्य बढाएर सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ, गुलिया पेय पदार्थ जस्ता अस्वस्थकर पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सक्छन् भन्दै मेयर, मिडिया र युवाको भूमिका यसमा विशेष रुपमा देखिनुपर्ने बताए । उनले वान हेल्थ एप्रोचबाट अघि बढनुपर्ने धारणा राखे ।

भरतपुर महानगरले भन्यो सुर्ती नियन्त्रण अभियान सम्बन्धी प्रतिवद्धतालाई व्यवहारमा उतार्छौ

 

सम्मेलनमा एपिक्याटको सदस्य समेत रहेको भरतपुर महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि यसअघि गरेका प्रतिवद्धता कार्यान्वयनमा ल्याउने भन्दै थप योजनाका साथ अघि बढ्ने बताएको छ ।

महानगरका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले भरतपुरले यसअघि नै पनि सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीतिगत काम गर्दै आएको भन्दै अब कार्यान्वयन गर्नुपर्ने पक्षलाई अघि बढाउने बताए ।

उनले मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारा बोकेर अघि बढेको भरतपुरले दीगो विकास लक्ष हासिल गर्न स्वास्थ्यका तर्फबाट गर्नु पर्ने कामहरु अघि बढाएको बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालले डब्लुएचओ एफसिटीमा हस्ताक्षर गरिसकेको भन्दै त्यस अनुसार बनेको ऐन कार्यान्वयन गर्ने क्रममै रहेको बताए । सुर्ती नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिईएको, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाईने, टोवाको सिसेन प्रोगाम सञ्चालन गरेको लगायतका कामहरु प्रस्तुत गरे ।

उनले चुइङ्ग टोबाको, सिसा, हुक्कासेवन जस्ता कार्यलाई रोक्न चुनौती रहेको बताए । कार्यक्रममा महानगर वडा नं ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेले सम्मेलनले जनप्रतिनिधिले के कसरी काम गर्न सकिदो रहेछ भनेर थाहा पाएको भन्दै भरतपुरलाई नमूना महानगरको रुपमा विकास गरिने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *