ललितपुरबासीले पिउने पानी ६५ प्रतिशत प्रदुशित ?

ललितपुर, २० असार । ललितपुरबासीले पिउने पानी ६५ प्रतिशत  प्रदुशित रहेको पाइएको छ । त्यो पानीमा दिसामा रहने जीवाणु कोलिफर्म भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका फोकल पर्सन शंकर पौडेलले धारामा आउने पानी, ट्याङरले ओसार्ने पानी मात्रै नभई जार र मिनिरल वाटरको रुपमा बोतलमा पाइने पानीमा समेत कोलिफर्म भेटिएको बताए ।

‘अघिल्लो बर्ष परीक्षण गरिएका मध्ये ८१ प्रतिशत पानी असुद्ध भेटिएको थियो । यो बर्ष त्यो भन्दा बढी भेटिने सम्भावना छ । गत वैशाख यता ट्यांकर, जार, धारा तथा बोतलको गरी ६० वटा नमूना पानी परीक्षण गरयौँ तर सो क्रममा ३९ वटा अर्थात (६५ प्रतिशत)मा कोलिफर्म भेटियो जो हैजाको महामारी फैलाउन सहयोगी ठानिन्छ,’ उनले भने ।

उनले गोदाबरी, सुनाकोठी, बंगलामुखी लगायतका स्थानबाट पानीको नमूना संकलन गरी ल्याएर परीक्षण गरेको जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले गतवर्ष बढदो शहरीकरणसंगै धारामा आएका र ट्यांकरमा ओसारिएका मात्रै नभई प्राकृतिक रुपमा उम्रिएका पानी समेत प्रदुशित भएको बताए ।

उनले प्रदुशित पानीकै कारण जिल्लाले बेलाबेलामा झाडा पखाला, हैजा, जन्डिस जस्ता रोगको समस्या झेल्नु परेको बताए । उनले उपत्यकामा गतवर्ष पनि सबैभन्दा बढी हैजाको केश ललितपुरमा भेटिएको भन्दै यसपटक पनि तीन वटा केश देखिइसकेको बताए । यद्धपी उनले केश देखिनासाथ रेपिड रेस्पोन्स टिम पुगेर नियन्त्रणमा लिई सकेको देखाए ।

बाक्लो बस्तीले हैजाको खतरा
सरुवा रोग हेर्ने फोकल पर्सन पौडेलले ललितपुरमा हैजा फैलनुमा बाक्लो र पुरानो बस्ति समेत एक प्रमुख कारण रहेको दावी गरे । ‘पुराना बस्तीमा ट्वाइलेट पनि पुरानै स्टायलका छ ।

सेफ्टीट्याक्कीमा रिङ हालिएको हुन्छ । जसबाट ट्वाइलेटको फोहर सजिलै जमिनमा रसाउँछ । र त्यहि रस हामीले खाने पानीको ट्यांकीमा छिर्छ । र पानी प्रदुशित हुन्छ,’ उनले भने ।

उनले सेफ्टी ट्याक्कि र खानेपानी वा इनारको पानीको ट्याङ्कीको दुरी कम्तीमा ३० मिटर वरपर हुनुपर्ने बताए । तर उपत्यकामा भने केही सेन्टीमिटरकै दुरीमा खानेपानी र टवाइलेटको ट्यांकि हुन्छ ।

सरुवा रोग नियन्त्रणका लागि मिडियाको भूमिका

यसैबीच सञ्जीवनी हेल्थ मिडिया र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा भएको महामारी रोग र स्वास्थ्य सेवा विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पौडेलले २१ औँ सताव्दीको बेला र राजधानीकै शहर काठमाडौँको पानीमा स्वच्छता नहुनु दुखत रहेको बताए ।

उनले धाराको पानी, ट्याकरको पानी र जारकै पानी भएपनि उमालेर खान सुझाव दिए । उनले आम जनताले पानी प्रदुशित हुनसक्छ भन्ने जान्दा जान्दै पनि सतर्कता न अपनाएको भन्दै सञ्चार माध्यमले सचेतनाका लागि सहयोग गर्नुपर्ने बताए ।

फोकल पसर्न पौडेलले प्रस्तुतिकरण मार्फत उपत्यकामा झाडा पखला देखि बर्डफ्लु, स्वाइनफ्लु, स्क्रप टाइपस, डेंगु मलेरिया जस्ता सरुवा रोगको जोखिम रहेको भन्दै किटजन्य, पंक्षीजन्य, तथा जनावरजन्य रोगहरुबाट जोगिन सतर्कता अपानुपनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *