बागलुङमा साउनयता १४ सयभन्दा बढीमा डेंगु, २८२ मा स्क्रब टाइफस संक्रमण पुष्टि

32
Shares

काठमाडौँ, ३१ भदौ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ।

बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्।

जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेङ्गु फैलिएको छ। बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ। जुन तथ्याङ्क नेपालमै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ।

गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ।

डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ। स्क्रब टाइफसका ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएका छन्।

नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रूपमा बागलुङ र पालिकाका रूपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिएका छन्।

बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको उनको भनाइ छ। ‘हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ,’ शर्मा भन्छन्, ‘धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ। बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ।’

जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जनासम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिएका छन् ।

डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *