तिलोत्तमाको सुलभ फार्मेसीको विवाद सुल्झिएन, व्यवसायीलाई धम्काउन थालेपछि एनसीडीएको आपत्ति

20
Shares

बुटवल, २८ भदौ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सुलभ फार्मेसी वैधानिकतामा प्रश्न उठाउँदै औषधी व्यवसायीहरुले उधारो कारोबार बन्द गरेपछि उत्पन्न विवाद अझै सेलाएको छैन ।

बरु केही जनप्रतिनिधि तथा सरोकारवालाबाट स्थानीय औषधी व्यवसायीलाई धम्काउन थालेका छन् । व्यवसायीहरुमाथि धम्की आउन थालेपछि नेपाल औषधी व्यवसायी संघले विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर आचार्यले जारी गरेको विज्ञप्तीमा केही जनप्रतिनिधि तथा सरोकारवालाबाट स्थानीय औषधी व्यवसायीलाई लक्षित गरी अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। औषधी व्यवसायीलाई ‘माफिया’ र ‘सिन्डिकेट’ जस्ता लाञ्छना लगाउने तथा व्यवसायीका पसल र गोदाममा गएर ताला लगाउनेजस्ता अभिव्यक्ति गैरकानुनी र आपत्तिजनक भएको संघको भनाइ छ।

संघले औषधी व्यवसाय केवल व्यापारिक गतिविधि नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सामाजिक सेवा भएको उल्लेख गर्दै प्राकृतिक विपत्ति, महामारीलगायत कठिन परिस्थितिमा समेत निजी क्षेत्रका औषधी व्यवसायीले निरन्तर सेवा दिँदै आएको विज्ञप्तिमा जनाइएको छ।

वर्षौंदेखि प्रचलित कानुनबमोजिम ठूलो लगानीमा व्यवसाय सञ्चालन गर्दै हजारौँ नागरिकलाई रोजगारीसमेत प्रदान गरिरहेका व्यवसायीलाई निरुत्साहित गर्ने गतिविधिले निजी क्षेत्र र समग्र औषधी व्यवसायप्रतिको जनविश्वासमा नकारात्मक असर पार्ने संघको चेतावनी छ।

संघले बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै व्यवसायीको शान्ति–सुरक्षा सुनिश्चित गर्नु जनप्रतिनिधिको पनि दायित्व भएको जनाएको छ। व्यवसायीलाई ‘नाफाखोर’का रूपमा चित्रण गर्ने वा पसल तथा गोदाममा ताला लगाउनेजस्ता अभिव्यक्तिले निजी क्षेत्रलाई निरुत्साहित गर्ने संघको भनाइ छ।

त्यस्तै, संघले सञ्चारमाध्यमलाई पनि घटनाका सबै पक्षसँग सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। एक पक्षको भनाइलाई मात्र आधार बनाएर समाचार नबनाउन तथा जिम्मेवार र निष्पक्ष पत्रकारिताको अभ्यास गर्न संघले अपिल गरेको छ।

समस्याको समाधान धम्की, आरोप–प्रत्यारोप वा दबाबबाट नभई आपसी संवाद, समन्वय र सहकार्यबाट खोजिनुपर्ने संघको निष्कर्ष छ। विज्ञप्तिमा जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई मर्यादित व्यवहार गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

व्यवसायीहरुले तिलोत्तमाले गैरकानूनी रुपमा सुलभ फार्मेसीको नाम प्रयोग गरेको बताउने गरेका छन् । सुलभ फार्मेसी न औषधी व्यवस्था विभागमा दर्ता छ न त नगरपालिकामा ।

अहिले सुलभ फार्मेसी सञ्चालन गर्न भन्दै नगरपालिकाले बुट्स मेडिको प्रालिलाई ठेक्कामा दिएको छ । ठेक्का सम्झौँतामा नगरपालिकाले बार्षिक २ लाख ५० हजार भाडा बोहोर्ने र फार्मेसीले २५ प्रतिशत औषधीमा छुट दिने भन्ने लगायतको छ ।

एनसीडीए लुम्बिनीका अध्यक्ष लुकराज न्यौपाने भन्छन्, ‘गैरकानूनी नामबाट सञ्चालित फार्मेसीलाई बील गर्न अलि गाह्रो नै हुन्छ । त्यसमा पनि अझ उदारोमा दिन त सकिने कुरा भएन । सुलभ नाममा कतै दर्ता छ भने त्यसपछिको कुरा भयो ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *