नन–इन्भेसिभ न्युरो मोडुलेसन प्रविधि नेपालमा भित्रियो
काठमाडौँ, २७ भदौ । न्युरो तथा स्नायु प्रणालीसम्बन्धी उपचारमा उपयोगी आधुनिक नन–इन्भेसिभ न्युरो मोडुलेसन प्रविधि नेपालमा भित्रिएको छ।
बिना शल्यक्रिया शरीरको स्वायत्त स्नायु प्रणाली (अटोनोमिक नर्भस सिस्टम) मा काम गर्ने स्पेनको नेसा वर्ल्ड कम्पनीको यो प्रविधि वेब ट्रेडिङ कन्सर्नले नेपाल भित्र्याएको हो।
शनिबार काठमाडौंमा एक समारोहका बीच नेसा वर्ल्ड इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आइटारो सेइकाइको उपस्थितिमा प्रविधि सार्वजनिक गरिएको थियो । वरिष्ठ न्युरोसर्जन डा. वीरेन्द्र कुमार बिष्टको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्पेनबाट आएका कन्सल्टेन्ट न्युरोसर्जन डा. सान्तियागो गार्फियाले नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रविधिको प्रयोग र सम्भावित क्लिनिकल एप्लिकेसनबारे जानकारी दिएका थिए।
एक्स–सिग्नल प्रविधिमा आधारित यो उपचार विधि शरीरको स्वायत्त स्नायु प्रणालीसँग सम्बन्धित समस्या तथा व्यवस्थापनमा प्रयोग गरिने कम्पनीले जनाएको छ। मुटुको धड्कन, श्वासप्रश्वास, पाचन, निद्रा तथा अन्य स्वचालित शारीरिक प्रक्रियामा स्वायत्त स्नायु प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ।

कम्पनीका अनुसार प्रविधिको प्रयोग दीर्घकालीन दुखाइ, ओभरएक्टिभ ब्लाडर, पिसाब चुहिने समस्या, निद्रा तथा एङ्जाइटी डिसअर्डर्स, थकान र सेक्सुअल डिसफङ्सनलगायत समस्यामा हुँदै आएको छ।
नेसा वर्ल्डका सीईओ सेइकाइले प्रविधिको विकास तथा अनुसन्धानमा २० वर्षभन्दा बढी समय खर्च गरिएको बताए। जापानमा सुरु भएको प्रविधि अहिले ५३ भन्दा बढी देशमा उपलब्ध रहेको र १ हजार ५ सयभन्दा बढी क्लिनिकले प्रयोग गरिरहेको कम्पनीको दाबी छ। उनका अनुसार १५ विश्वविद्यालय तथा २० भन्दा बढी वैज्ञानिक प्रकाशनमा आधारित अनुसन्धानबाट प्रविधिको प्रयोग अघि बढाइएको छ।
‘नेपाली बिरामीसम्म अत्याधुनिक चिकित्सा प्रविधिको पहुँच पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो,’ सेइकाइले भने। नेपालका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै प्रविधिको पहुँच विस्तार गर्ने उनको भनाइ थियो।
कार्यक्रमका बरिष्ठ न्युरो सर्जन डा। बिष्टले नयाँ प्रविधिको वास्तविक महत्व बिरामीको उपचारमा देखिनुपर्ने बताए। प्रविधि भित्र्याउनुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीको विशेषज्ञता विकास र यसको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
‘नयाँ प्रविधि ल्याउनु मात्र होइन, त्यसबाट बिरामीको उपचारमा सुधार ल्याउनु मुख्य कुरा हो,’ उनले भने।
वेब ट्रेडिङ कन्सर्नका अध्यक्ष रामइन्द्र न्यौपानेले प्रविधिलाई काठमाडौंमा मात्र सीमित नराखी आवश्यकता भएका स्वास्थ्य संस्था र बिरामीसम्म पुर्याउने प्रतिबद्धता जनाए। ‘विश्वमा प्रयोग भइरहेका प्रमाणमा आधारित प्रविधिलाई नेपाली स्वास्थ्य सेवासँग जोड्नु आवश्यक छ,’ उनले भने।
त्यसैगरी नेसा वर्ल्ड नेपालका सीईओ सम्भवराज ढकालले प्रविधिले नेपाली बिरामीलाई उपचारका थप विकल्प उपलब्ध गराउने बताए। यसको प्रभावकारी प्रयोगका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र क्लिनिकल ज्ञान उपलब्ध गराउँदै विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



