राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै
काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिईन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा।सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा।अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेको समेत उनले जानकारी दिईन । यस्तै जिल्ला प्रशासन कार्यालय,सप्तरीले पनि छानबिन समिति गठन गरेको छ।
मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताउँदै घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको समेत जानकारी दिईन् ।
सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने – जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताएकी छन् ।
मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताईन् ।
मेडिकल काउन्सिलको टोलीले बयान लिदै
यसैबीच घटनाको स्थलगत अनुगमन गरी प्रतिवेदन दिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सुप्रभात श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले घटनाका बेलामा डिउटीमा रहेका स्वास्थ्यकर्मीहरु (चिकित्सक नर्स तथा अन्य कर्मचारीहरु)संग बयान लिन थालेको छ ।
‘अहिले हामी बयान लिईरहेका छौँ । मेसु देखि कार्यालय सहयोगीसम्मको बयान लिने काम भइरहेको छ । त्यसपछि घटनाको विषयमा सत्यतथ्य आउँछ,’ रजिष्ट्रार डा. श्रेष्ठले भने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



