स्वास्थ्य बीमा बोर्डद्धारा ३८३ अस्पताललाई एक अर्व ९६ करोड बढी रकम भुक्तानी

काठमाडौँ, २६ भदौ । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारमा क्रियाशील ३८३ वटा अस्पतालहरुलाई १ अर्व ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६४ पैसा रकम सोधभर्ना गरिदिएको छ ।
गत २४ भदौको बोर्डको बैठकले अनुसार उक्त रकम सोधभर्ना गरिएको हो । त्यसो त यसपटक बोर्डमा स्वीकृत भएको दावी रकम २ अर्व १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ ६३ पैसा थियो । तर बोर्डले पेस्की बाँकी रहेका संस्थाको २ लाख २ हजार ९१४ रुपैयाँ ६७ पैसा र खाता नभएका संस्थाको रकम २ लाख ४२ हजार ३४२ रुपैयाँ ७१ पैसा साथै दुईवटा संस्थाका लागि हाल रोक्का राखिएको ५८ लाख रुपैयाँ ९३ हजार ९३० रुपैयाँ ५४ पैसा समेत कट्टा गरी कुल रकम २ अर्व ८१ लाख ७२ हजार ५५२ रुपैयाँ ७० पैसा मात्रै सोधभर्नाका लागि स्वीकृत गरेको थियो ।
त्यसमध्ये बोर्डले २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्दै बाँकी रकम भुक्तानी गरिएको जनाएको छ । बोर्डले यो भुक्तानीसंगै २०८३ बैशाख महिनासम्मको दावी रकम सोधभर्ना भएको समेत जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले लामो समय देखि भुक्तानी बाँकी रहेका स्वास्थ्य संस्थाहरुको रकम भुक्तानी गर्ने प्रक्रियालाई तिब्रता दिएको छ । चालु आर्थिक वर्षमा सरकारले १५ अर्व रुपैयाँ बजेट निकासा गरेको थियो । सोही रकमबाट अहिले धमाधम भुक्तानी गरिएको हो ।
भुक्तानी बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुको सेवामा पनि सुधार आउने अपेक्षा गरिएको छ । किनभने स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी भए पनि बीमितहरुले औषधी र परीक्षणमा पुरा सेवा नपाएको गुनासो गर्दै आएका छन् । रकम समयमा भुक्तानी नभएका कारण कतिपय अस्पतालले बीमितलाई दोस्रो दर्जाको बिरामीको रुपमा व्यवहार गर्ने गरेको समेत गुनासो आउने गरेको छ ।
कुन अस्पतालले कति रकम भुक्तानी पाए यहाँ क्लिक गरेर हेर्नुहोस्
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



