डा. जैसी एघारौँ तहमा बढुवा, आठौँ तहमा नाम निकालेका पाँच चिकित्सकलाई अन्तर्वार्ता सूचीबाट हटाइयो

काठमाडौँ, १९ भदौ । डा. विकास जैसी एघारौँ तहमा बढुवा भएका छन् ।
लोक सेवा आयोगद्धारा खुलाइएको आन्तरिक प्रतिस्पर्धामा स्वास्थ्य सेवा अन्तर्गत मेडिसिन समूह, हेपाटोलोजी उपसमूह, प्रमुख कन्सलटेन्ट हेपालोजिष्ट (फिजिसियन) पद (एघारौँ तह)मा उनी बढुवा भएका हुन् ।
तर, मेडिकल अधिकृत पदको विज्ञापनमा लिखित परीक्षाबाट नाम निकालेर अन्तर्वार्ताका लागि समेत भएका पाँच जना चिकित्सकको नाम भने आयोगले अन्तर्वार्ता सूचीबाट हटाएको छ ।
छात्रबृत्ति करारमा तोकिएको शर्त पुरा नरेकोले सो पदमा उम्मेदवार हुन अयोग्य भन्दै आयोगले उनीहरुको दरखास्त र परीक्षा बदर गरी अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाएको हो ।
त्यसरी नाम हटाइएकाहरुमा डा अन्विति पराजुली, डा आशुतोष झा, डा संगीन छन्त्याल, डा सागर विश्वकर्मा र डा सुविदराज दाहाल छन् ।
आयोगले प्रकाशित गरेको सूचनामा ‘चिकित्सा शिक्षा नियमावली २०७७ को नियम २२ को उपनियम ५ मा कुनै व्यक्ति छात्रबृत्तिमा मनोनयन भई अध्ययन गरी कबुलियतनामा बमोजिम सेवा गरिरहेको अवस्थामा कबुलियत बमोजिम एक वर्ष भन्दा बढी अवधी पुरा गरेपछि लोक सेवा आयोग वा अन्य कुनै सरकारी संस्थाबाट लिईने परीक्षामा उम्मेदवार हुन सक्ने व्यवस्था रहेकोमा उक्त कानूनी व्यवस्था बमोजिम तोकिएको सर्त पुरा नगरेकोले नाम सूचीबाट हटाइएको’ उल्लेख छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



