भोटेकोशी बाढी पछि प्रसूतिगृह अस्पतालको बार्षिकोत्सव स्थगित, खर्च हुने रकम उद्दार कोषमा जम्मा गर्ने निर्णय

20
Shares

काठमाडौँ, १८ भदौ । भोली शुक्रबार कृष्णाजन्माष्टमी, थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६७ औं बार्षिकोत्सवको दिन ।

अस्पतालले यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै विविध कार्यक्रम गरी भव्य रुपमा बार्षिकोत्सव मनाउने योजना बनाएको थियो । तर गत १० भदौका दिन भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढी पछि परिस्थिति बदलियो ।

देश नै शोकमा परिरहेको बेला अस्पतालले कुनै औपचारिक कार्यक्रम गर्ने कुरा भएन । बरु अस्पतालले सो कार्यक्रममा खर्च हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

‘शोकको यो घडीमा हामीले बार्षिकोत्सव मनाउने कुरा भएन । बरु यो बेला त पीडितको घाउँमा मल्हम लगाउनु पर्छ भन्ने लाग्यो र हामीले बार्षिकोत्सवका लागि छुट्याइएको बजेट खर्च कोषमा जम्मा गर्ने निर्णय गरयौँ,’ अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले भने ।

अस्पतालले हरेक वर्ष बार्षिकोत्सवको दिन पुरस्कृत गर्ने गरी स्वस्थ शिशु प्रतिस्पर्धाको कार्यक्रम पनि गर्दै आएको छ । यसपटक ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा थियो । अघिल्लो महिना देखि नै सुरु भएको यो कार्यक्रम केही दिन अघि सकिएको छ । त्यसमा विभिन्न तीन समूहका १२ जना प्रतिस्पर्धीहरु विजयी भएका छन् । उनीहरुलाई प्रशासनले पुरस्कार र प्रमाणपत्रका लागि सम्पर्क गर्न भनेको छ ।

‘प्रतिस्पर्धाको कार्यक्रम पहिले देखि नै तय भएको र लगभग अन्तिम चरणमा थियो त्यसैले त्यसको नतिजा प्रकाशित गरेका छौँ । कुनै औपचारिक कार्यक्रम नभएकोले प्रतिस्पर्धामा विजयी शिशु र अभिभावकले पुरस्कार तथा प्रमाणपत्रका लागि अस्पताल प्रशासनमा सम्पर्क गर्न भनेका छौँ,’ निर्देशक डा. अधिकारीले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *