रसुवा–भोटेकोशी बाढीपीडितका लागि आर्ट अफ लिभिङ नेपालको थप ५० लाख सहयोग

काठमाडौं, १६ भदौ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि आर्ट अफ लिभिङ नेपालले राहत तथा सहयोगलाई निरन्तरता दिएको छ।
संस्थाले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह, महासचिव प्रभुराज वैद्य, कोषाध्यक्ष रिता वैद्यसहित कीपा, मीखा र नीभा माथेमाको टोलीले आज अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
आर्ट अफ लिभिङ नेपालको राहत सहयोग ५० लाख रुपैयाँमा मात्र सीमित छैन। यसअघि नै संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पहिलो किस्ताबापत २० लाख रुपैयाँ जम्मा गरिसकेको थियो।
त्यसैगरी, सोमबार मात्रै संस्थाले ३८ लाख २३ हजार रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराएको थियो।
संस्थाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर स्थानीय समुदायलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई समेत निरन्तरता दिँदै आएको छ। प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न आवश्यक राहत सामग्री उपलब्ध गराउने तथा समुदायसँग प्रत्यक्ष समन्वय गरी सहयोग गर्ने काम भइरहेको संस्थाले जनाएको छ।
करुणा, सेवा र सामूहिक कार्यमा विश्वास राख्ने आर्ट अफ लिभिङ नेपालले प्राकृतिक विपद्का समयमा मानवीय सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गुरुदेव श्रीश्री रविशंकर जीले स्थापना गरेको आर्ट अफ लिभिङ विश्वभर सेवा, करुणा र सामूहिक कार्यका माध्यमबाट मानवीय सहयोगमा सक्रिय संस्थाका रूपमा परिचित छ।
नेपालमा पनि यो संस्थाले विभिन्न प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



