स्वास्थ्य संस्था बाढीले बगेपछि अस्थायी संरचनामार्फत सेवा दिने तयारीमा रसुवा

32
Shares

काठमाडौँ, १४ भदौ ।  गत बुधबार गएको विनाशकारी बाढीले रसुवाका चारवटा स्वास्थ्य संस्था बगाएको थियो । स्वास्थ्य संस्था मात्रै होइन जिल्लाका १२ जना स्वास्थ्यकर्मी पनि वेपत्ता भएका छन् । अकल्पनीय बाढीबाट ठूलो जनधनको क्षति व्यहोरेको रसुवाले पाँच दिन पछि स्वास्थय सेवालाई नियमित गर्ने प्रक्रिया अघि बढाएको छ ।

आज जनस्वास्थ्य कार्यालय रसुवामा बसेको बैठकले बाढीमा परेर बगेका ठाउँमा अस्थायी संरचना तयार गरी स्वास्थ्य सेवालाई सुचारु गर्ने निर्णय गरेको छ । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

रसुवा बाढी पछि त्यस क्षेत्रमा स्वास्थ्य सेवा विभागबाट खटिएका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. प्रकाश ज्ञवालीले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिनका लागि पालिकाहरुबीच प्रभावकारी रुपमा समन्वय गरी अन्तरपालिका स्वास्थ्यकर्मीहरुको परिचालन र औषधी तथा औषधीजन्य सामग्रीको व्यवस्थापन गर्ने निर्णय भएको बताए ।

उनले पोष्ट डिजास्टर रोकथाम क्रियाकलपा प्रभावकारी रुपमा सञ्चालन गर्ने र क्षति भएको स्वास्थ्य संस्थाको पुर्ननिर्माण हुनु पूर्व सेवालाई निरन्तरता दिनका लागि अस्थायी संरचनाको व्यवस्था गर्ने निर्णय गरेको बताए ।

रसुवा बाढीमा जिल्लाको गोसाईकुण्ड गाउँपालिका (५ स्थित स्वाफ्रुबेसी स्वास्थ्य चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस्तै गोसाईकुण्ड (२ को टिमुरे स्वास्थ्य चौकी, रसुवागढी हेल्थ डेस्क पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उत्तरगया गाउँपालिकाको मैलुङ सामुदायिक स्वास्थ्य ईकाई पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रभावित क्षेत्रका नागरिकका लागि नियमित अत्यावश्यक औषधीको व्यवस्था गरिंदै

बरिष्ठ स्वास्थ्य प्रशासक डा. ज्ञवालीले अहिले जिल्लाका बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधीको उपलव्धता मिलाउने काम भइरहेको बताए ।

‘औषधीको उपलव्धताको कुरा गर्दा अहिले खासै समस्या छैन । धुन्चेबाट हामीले हेलिकप्टरको माध्यमबाट प्रभावित क्षेत्रमा अस्थायी क्याम्प गराई नियमित खाने औषधीको उपलव्धता मिलाएका छौँ । बीचमा त केही डिस्टर्व भयो  तर आजबाट सबै ठाउँमा औषधी पुगेको छ, उनले भने ।

नियमित औषधी खाईरहेका कतिपयले भने आफूले खाई रहेको ब्राण्ड भन्दा फरक ब्राण्डको औषधी भएको भन्दै अलमलमा देखिन्थे । तर स्वास्थ्यकर्मीहरुले सम्झाए पछि उनीहरुले नियमित खानु पर्ने औषधीहरु लगेका छन् ।

जिल्लामा अहिले राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल र धुलिखेल अस्पतालबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी सेवा दिई रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *