बाढी प्रभावितका लागि शहीद गंगालालका कर्मचारीले दुई दिनको तलव सहयोग गर्ने
काठमाडौँ, १४ भदौ । भोटेकोशी त्रिशुली बाढी प्रभावित नागरिकहरका लागि भन्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवनलगायतका जिल्लामा परेको असर प्रति दुख व्यक्त गर्दै केन्द्रले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचार तथा राहतमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसैगरी केन्द्रले बाढीका कारण नियमित उपचार तथा औषधी सेवनमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालदेखि नियमित औषधी सेवन गरिरहेका बिरामी, मुटुरोगी तथा अन्य मुटुसम्बन्धी समस्या भएका नागरिकको उपचारमा आवश्यक सहयोग गर्ने जनाएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यकताका आधारमा स्वास्थ्य टोली परिचालन गर्ने केन्द्रको योजना छ। स्वास्थ्य टोलीमार्फत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श तथा आवश्यक औषधोपचारमा सहयोग गरिने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार तत्काल आवश्यक पर्ने सहयोगको प्रकृति र परिमाण सम्बन्धित निकायसँगको समन्वयमा निर्धारण गरिनेछ। उपलब्ध स्रोत, जनशक्ति र विशेषज्ञताको अधिकतम उपयोग गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि केन्द्रले व्यक्त गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक प्राडा आशिष गोविन्द अमात्यद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्का बेला केवल सहानुभूति व्यक्त गरेर मात्र नपुग्ने भन्दै आवश्यकता पहिचान, सम्बन्धित निकायसँग समन्वय र आवश्यक स्थानमा आवश्यक सहयोग पुर्याउनुपर्नेमा जोड दिइएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



