पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक दिनको तलव जम्मा गर्ने

ललितपुर, १२ भदौ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत कर्मचारीले भोटेकोशी-त्रिशुली नदीमा आएको बाढीबाट पीडित नागरिकका लागि राहत तथा उपचारमा सहयोग पुर्याउन भन्दै एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै सो जानकारी गराएको हो ।
गत १० भदौका दिन भोटेकोशी त्रिशुलीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवनलगायत देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुरयाएको छ । प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीद्धारा जारी विज्ञप्तीमा उक्त विपत्तीले पारेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीको स्वेच्छिक सहयोग रकम कोषमा प्रदान गर्ने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तीमा विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
साथै विपद्का कारण नियमित औषधि सेवन तथा स्वास्थ्य सेवाको पहुँचमा समस्या परेका दीर्घरोगी, बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर स्वास्थ्य टोली परिचालन गर्ने पनि प्रतिष्ठानले जनाएको छ। टोलीमार्फत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रतिष्ठानले व्यक्त गरेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



