प्यान्क्रियाज क्यान्सर उपचारमा थपियो आशा, नयाँ औषधीले बाँच्ने समय बढाएको दावी
एजेन्सी । शरीरका अन्य भागमा फैलिसकेको प्यान्क्रियाज क्यान्सर भएका बिरामीका लागि आशा जाग्दो समाचार आएको छ । अमेरिकी खाद्य तथा औषधी प्रशासनले केही निश्चित बिरामीका लागि प्रयोग गर्न मिल्ने डाराक्सोनरासिब नामक औषधीलाई स्वीकृति दिएपछि नयाँ आशा जागेको हो ।
यो दिनमा एकपटक खाने चक्कीका रूपमा प्रयोग गरिन्छ।
अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरुको अनुसार यो औषधी विशेषगरी क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको र यसअघि गरिएका उपचारले काम गर्न छाडेका बिरामीका लागि प्रयोग गरिनेछ। प्यान्क्रियाज क्यान्सरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आरएएस प्रोटिनलाई लक्षित गर्ने यो पहिलो स्वीकृत उपचार भएको बताइएको छ।
ठूलो क्लिनिकल परीक्षणमा डाराक्सोनरासिब प्रयोग गरेका बिरामीको मध्यक बाँच्ने समय १३.२ महिना देखिएको थियो। केमोथेरापी लिने बिरामीमा भने यो समय ६.७ महिना मात्र थियो। अर्थात् नयाँ औषधीले केही बिरामीमा बाँच्ने समय उल्लेखनीय रूपमा बढाउन सक्ने देखिएको छ।
बैज्ञानिकहरुले १३.२ महिना भनेको प्रत्येक बिरामीले त्यति नै समय बाँच्ने भन्ने नभएको स्पष्ट पारेका छन् । औषधीले कसैलाई राम्रो काम गर्न सक्छ भने कसैमा कम प्रभाव देखिन सक्छ। औषधीको असर तथा दुष्प्रभावका कारण केही बिरामीले उपचार रोक्नुपर्ने अवस्था पनि आउन सक्छ। उनीहरुले भनेका छन् ।
प्यान्क्रियाज क्यान्सरलाई उपचार गर्न निकै कठिन क्यान्सरमध्ये एक मानिन्छ। धेरै बिरामीमा रोग फैलिसकेपछि मात्र यसको पहिचान हुने भएकाले शल्यक्रिया गर्ने सम्भावना कम हुन्छ। साथै, ट्युमर वरिपरि बन्ने बाक्लो तन्तुले औषधीलाई क्यान्सरको ट्युमरसम्म प्रभावकारी रूपमा पुग्नसमेत कठिन बनाउँछ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



