भोटेकोशीमा ठूलो बाढी: त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता रहन र यात्रा नगर्न आग्रह

0
Shares

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि नदि आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

गृह मन्त्रालयले केहीवेर अघि सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले अर्को सूचना नआउँदासम्म भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई विशेष सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

खोज तथा उद्धार आवश्यक परेमा वा अन्य कुनै सहायता आवश्यक देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरिएको छ। उक्त क्षेत्रको आवतजावतमा समेत पूर्ण रोक लगाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।

नदीको बहाव र बाढीको अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *