विपन्न नागरिकको कडा रोगको उपचार गर्ने स्वास्थ्य संस्थालाई २७ करोड भुक्तानी

20
Shares

काठमाडौँ, ९ भदौ । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत ११५ वटा सेवा प्रदायक अस्पतालहरुलाई गत असार महिनाको रकम सोधभर्ना गरेको छ ।

बोर्डले डायलासिस सेवा, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदि रोगहरुको उपचार वापत २७ करोड १४ लाख २२ हजार ११७ रुपैयाँ १८ पैसा रकम सोधभर्ना गरेको हो ।

पछिल्लो पटक कडा रोग लागेका विपन्न नागरिकको औषधी उपचार वापतको रकम सोधभर्ना गर्ने काम बोर्डले सम्हालेको छ । यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो ।

बोर्डको गत ५ भदौको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलव्ध कागजात एकीन गरी दावी स्वीकृत भएको रकम सम्वन्धीत स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको हो ।

आर्थिक तथा जनशक्ति अभावमा अस्तव्यस्त जस्तै बनेको स्वास्थ्य बीमा बोर्ड पछिल्लो समय चुस्त बन्दै गएको छ । अहिले बोर्डले स्वास्थ्य बीमा तर्फको लामो समयदेखि बक्यौता रहेको रकमहरु पनि फरफारक गर्दै आएको छ ।

बोर्डका प्रवक्ता डा पवन शाहका अनुसार स्वास्थ्य बीमा सेवा उपलव्ध गराएका स्वास्थ्य संस्थालाई पनि फागुन सम्मको हिसाव क्लियर भइसकेको छ, बाँकी पाँच महिनाको रकम पनि छिटै सोधभर्ना हुने गरी काम अघि बढी रहेको छ ।

‘पहिले रकम पनि थिएन, दावी भुक्तानीको परीक्षण गर्ने जनशक्ति पनि थिएन । अहिले हामीकहाँ करीव ५५ जना जनशक्तिले दैनिक दावी भुक्तानीको परीक्षण गरिरहेका छन् । सरकारले बजेट पनि १५ अर्व छुट्याएको अवस्था छ । यसले हामीलाई सोधभर्नाका लागि पनि केही सहज हुनेछ । डिजिटल सिस्टममा समेत धेरै सुधार आइरहेकोले कामहरु सजिलो हुँदै गएको छ,’ उनले भने ।

विसं २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशव्यापी भईसकेको छ । यद्धपी यसको सेवाको सन्दर्भमा नागरिकका तर्फबाट अहिले पनि केही गुनासाहरु आइनै रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *