२५ जिल्लामा फैलियो जापानिज इन्सेफलाइटिस, २१ जनाको मृत्यु

22
Shares

काठमाडौँ, ८ भदौ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण तथा मृत्युको संख्या बढिरहेको भन्दै सरकारले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन आम नागरिकलाई अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा प्रयोगशालाबाट पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्।

महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेई खोप” नलगाएको बताएको छ । उसले मृतक सबैले जेई खोप नलगाएको समेत उल्लेख गरेको छ ।

महाशाखाका अनुसार जापानिज इन्सेफलाइटिसका केसहरू सबैभन्दा झापामा १०, त्यसपछि कैलाली र मोरङमा ७-७, सप्तरी र कञ्चनपुरमा ६-६, तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५-५ केस रहेका छन्।

केसहरू मुख्यतः तराई तथा भित्री मधेशका जिल्लाहरूमा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लाहरूमा समेत पुष्टि भएको उल्लेख गरेको छ । मृत्युको केशहरु भने सबैभन्दा बढी प्रभावित झापा जिल्ला रहेको छ, जहाँ १० केसमा ६ जनाको मृत्यु भएको छ ।

कसरी फैलिन्छ जापानिज ईन्सेफलाईटिस ?

जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ।

पछिल्लो प्रतिवेदनअनुसार ८७ प्रतिशत जेईका केस तराईका जिल्लामा देखिएका छन्।

धेरै बिरामीहरू धानखेत तथा सुँगुर पालन गरिने क्षेत्रमा बसोबास गर्ने पाइएको छ । संक्रमित जनावरहरू जस्तै सुङ्गुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ।  जापानिज इन्सेफलाइटिस संक्रमण भएका प्रत्येक ३ जनामध्ये १ जनाको मृत्यु हुने र १ जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्न पर्ने तथ्याङ्क छ।

कसलाई बढी जोखिम ?

पछिल्लो तथ्यांकअनुसार ८० पुष्टि भएका केसमा ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। यस वर्ष हालसम्म पुष्टि भएका ८० केसमा पुरुष ४३ र महिला ३७ जना छन्। जेईका कारण २१ जनाको मृत्यु भएको छ र केस फ्याटालिटी रेट २६ प्रतिशत रहेको छ।

कस्ता लक्षणहरू देखिन्छ ?

जे.ई. रोग लाग्यो भने सुरुमा रुघा-खोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिन्हहरु देखिन्छन् । त्यसपछि निम्नानुसार गम्भिर प्रकारका लक्षण र चिन्हहरु देखापर्छन् :

  • उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने ।
  • वाकवाकी लाग्ने र वान्ता आउने ।
  • झर्को मान्ने, वेसुर हुने, बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने ।

यस्ता लक्षण देखिए के गर्ने ?

यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। विरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउनुपर्छ। समयमै अस्पताल पुर्‍याउन सकेमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिन्छ। ढिलो उपचार पाएमा मस्तिष्कमा गम्भीर असर पर्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ। समयमै अस्पताल पुर्‍याइएका कारण गम्भीर जटिलता र मृत्युबाट जोगिएका धेरै उदाहरणहरू छन्। महाशाखाले यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा अस्पताल पुगिहाल्न अनुरोध गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *