भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप दोब्बरले बढ्यो, पूर्वाधार र उपकरण राख्न स्थान अभाव

0
Shares

भक्तपुर, ७ भदौ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान तथा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। तर बिरामीको चाप बढेसँगै अस्पतालको विद्यमान क्षमता, भौतिक पूर्वाधार र उपकरण भने अपुग हुँदै गएको छ।

काठमाडौं उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरबाहेक देशका विभिन्न स्थानबाट समेत उपचारका लागि अस्पताल आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बरले बढेको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार पछिल्लो एक–दुई वर्षमै बिरामीको संख्या दोब्बरभन्दा बढी बढेको छ। उनका अनुसार दुई वर्षअघिसम्म अस्पतालको ओपिडीमा वार्षिक ५० देखि ६० हजार बिरामी आउने गरेका थिए। तर गत वर्षदेखि ओपिडीमा उपचारका लागि आउने बिरामीको संख्या वार्षिक एक लाखभन्दा बढी पुगेको छ।

अस्पतालमा प्रत्येक वर्ष करिब चार हजार नयाँ क्यान्सरका बिरामी उपचारका लागि थपिने गरेका छन्। हाल अस्पतालमा १५० शय्या सञ्चालनमा रहेका छन्।

बढ्दो बिरामीको चापको तुलनामा अस्पतालको वर्तमान क्षमता पर्याप्त नरहेको देखिएको छ। अस्पतालमा रेडियोथेरापी सेवा लिने बिरामीको संख्या पनि वार्षिक एक हजारभन्दा बढी रहेको छ।

सीमित पूर्वाधार र उपकरणका बीच सेवा प्रवाह गरिरहेको अस्पताल अहिले क्षमता विस्तारको पर्खाइमा छ। शनिबार आयोजित छलफलमा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाले बढ्दो उपचार मागलाई सम्बोधन गर्न अस्पतालको समग्र पूर्वाधार विस्तार आवश्यक रहेको बताएका छन्।

छलफलमा अस्पताल विस्तारलाई टुक्रे योजनामा सीमित नराखी एकीकृत गुरुयोजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ। सहभागीहरूले शय्या थप्नुका साथै अत्याधुनिक उपकरण भित्र्याउने, रेडियोथेरापी तथा केमोथेरापी सेवा विस्तार गर्ने, प्रयोगशाला सुदृढ बनाउने र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अन्तरक्रियामा अस्पतालको वर्तमान अवस्थादेखि दीर्घकालीन विकास योजनासम्मका विषयमा छलफल भएको थियो। क्यान्सर उपचार लामो र खर्चिलो हुने भएकाले पूर्वाधार तथा सेवा विस्तारसँगै सर्वसाधारणले सहज र सस्तो उपचार पाउने व्यवस्था गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *