झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै

काठमाडौँ, ३१ साउन । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ ।
पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ ।
संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् ।
जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजनामा जेई संक्रमण पुष्टि भएको छ ।
संक्रमित १० जनामध्ये पाँचजनाको मृत्यु भएको, दुईजना उपचाररत रहेको र तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
संक्रमितमध्ये एकजना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधरणलाई आग्रह गरे ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




