चितवनमा ६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि

काठमाडौँ, २९ साउन । चितवनमा यही साउनमा ६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय ६ जनामा स्क्रब टाइफस र २ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।
जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको बताइएको छ ।
डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो ।
यो समय डेङ्गुको मुख्य सिजन भएकाले सङ्क्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन तथा घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्न आग्रह गरिएको छ ।
स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्न, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन कार्यालयले आग्रह गरेकोछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




